जनकपुर, १ पुस । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा जंगीलाल राय नियुक्त हुनुभएको छ ।
यसअघि विनाविभागीय मन्त्री जंगिलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम सोमवार मन्त्रिपरिषद् पुनर्गठन गर्दा रायलाई उक्त जिम्मेवारी प्रदान गर्नुभएको हो ।
राय नेपाली कांग्रेस सर्लाही क्षेत्र नं २ (ख) बाट निर्वाचित प्रदेश सांसद हुनुहुन्छ ।
मन्त्रालयको जिम्मेवारी पाएपछि उहाँले समग्र मधेश प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका लागि इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले पूर्ववर्ती सरकारले सुरु गरेर अलपत्र पारेका स्वास्थ्यसम्बन्धी योजनाहरू पूरा गर्ने तथा सर्लाहीमा उपयुक्त स्थानमा ट्रमा सेन्टर सञ्चालनका लागि पहल गर्ने बताउनुभयो ।