भक्तपुर क्यान्सर अस्पतालले बिरामीको जन्मदिन लगायत हरेक चाडपर्व मनाउने गरेको छ ।
भक्तपुर, १६ असोज । भक्तपुर क्यान्सर अस्पतालले दशैंको अवसरमा प्यालेटिभ केयरमा उपचाररत बिरामीहरूसँग दशैं मनाएको छ।
गम्भीर अवस्थाका बिरामीहरूको उपचार, हेरचाह र मनोवैज्ञानिक सान्त्वनाका लागि स्थापना गरिएको प्यालेटिभ केयर सेवा अन्तर्गतका बिरामीहरूलाई अस्पतालले टीका, जमरा र मिठाई वितरण गर्दै दशैं मनाएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले प्यालेटिभ केयरमा रहेका १० जना क्यान्सर बिरामीहरूलाई टीका तथा जमरा लगाएर आशिर्वाद दिनुभयो।
उहाँले भन्नुभयो, “यी बिरामीहरूका लागि दशैंको उपलक्ष्यमा उनीहरूलाई परिवारको अनुभूति दिलाउने प्रयास गरेका हौं।”
प्यालेटिभ केयरको महत्व
प्यालेटिभ केयर क्यान्सरको अन्तिम चरणमा रहेका बिरामीहरूको जीवनस्तर सुधार गर्न केन्द्रित चिकित्सा सेवा हो। यसमा बिरामीको शारीरिक पीडा कम गर्ने मात्र होइन, मानसिक, सामाजिक र भावनात्मक पक्षलाई समेत सम्बोधन गरिन्छ। भक्तपुर क्यान्सर अस्पतालमा केही महिना अघि स्थापना गरिएको यो सेवा छोटो समयमै प्रभावकारी रूपमा अघि बढ्दै गएको देखिन्छ।
डा चालिसेले प्यालेटिभ केयर सेवा अन्तर्गत बिरामीहरूलाई नियमित काउन्सिलिङ, मनोवैज्ञानिक सहयोग, पोषण परामर्श र सामाजिक सहारा प्रदान गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेको स्वास्थ्य प्रणालीमा प्यालेटिभ केयर अझै धेरैको लागि अपरिचित छ, तर हामी यसलाई व्यापक बनाउन चाहन्छौं। हाम्रो अस्पतालमा बिरामीको जन्मदिनदेखि लिएर तिहार, ल्होछार, क्रिसमसजस्ता चाडपर्व मनाउने कार्यक्रम निरन्तर भइरहेका छन्।”
बिरामीको अनुभव
उक्त समारोहमा सहभागी एक बिरामीका आफन्तले अस्पतालले बिरामीलाई दिएको सेवाले आफू प्रभावित भएको जानकारी गराउनुभयो ।
उहाँले दशैंजस्तो चाड अस्पतालमा मनाउन सकिन्छ भन्ने नसोचेको बताउनुभयो ।
अर्का एक बिरामीले डाक्टर र नर्सहरूले हरेक दिन हाँसी-हाँसी सेवा दिने गरेको जानकारी गराउनुभयो ।
नर्सले हामीलाई मनोबल दिन्छन्,उहाँले थप्नुभयो,"आजको टीका लगाउँदा लाग्यो, म आफ्नो घरमै छु।”
अस्पतालका कार्यकारी निर्देशक चालिसेका अनुसार, प्यालेटिभ केयर सेवा अझ विस्तार गर्ने योजना बनाइएको छ। विशेष गरी ग्रामीण क्षेत्रबाट आएका गम्भीर अवस्थाका बिरामीहरूको सेवा पहुँच बढाउने तयारी भइरहेको छ। यसका लागि अस्पतालले थप जनशक्ति थप गर्ने प्रक्रियामा रहेको छ।
डा चालिसेले भन्नुभयो, “हामी बिरामीको शारीरिक उपचार त गर्छौं नै, तर त्योभन्दा पनि महत्त्वपूर्ण बिरामीको लागि काउन्सिलिङ महत्त्वपूर्ण पक्ष हो।”
उपचार सकिएको होइन, जीवन बाँकी छ भन्ने अनुभूति दिलाउनु नै प्यालेटिभ केयरको मूल सन्देश हो।
प्यालेटिभ केयरलाई समाजमा अझ पहिचान दिलाउन जनचेतना आवश्यक रहेको डा चालिसेले बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालले सुरु गरेको यो मानवकेन्द्रित सेवा केवल उपचारमा सीमित छैन, यो जीवनलाई सहज, आत्मसम्मानपूर्ण र सहृदय ढंगले बाँचेको अनुभूति दिलाउने अभियान हो। दशैं मनाउने यो प्रयास त्यसैको एउटा उदाहरण हो, जहाँ मृत्युको छायामा उभिएका मानिसहरूलाई पनि जीवनको उज्यालो देखाउने कोशिस गरिएको छ।
हेरौं तस्वीर:


