म्याग्नस फर्माद्धारा मोमेटासोन न्याजल् स्प्रे’ उत्पादन
काठमाडौं, ३१ असार । नाकको एलर्जीमा प्रयोग हुने औषधि नेपाली बजारमा आएको छ ।
नेपाली औषधि कम्पनी म्याग्नस फर्मास्युटिकलले मोमेटासोन न्याजल स्प्रे (नाकमा प्रयोग हुने औषधि) नेपालमै उत्पादन गर्न सफल भएको छ।
कम्पनीले ‘मोमेकोर’ ब्रान्ड नाममा यो स्प्रे उत्पादन सुरु गरेको हो । यो औषधि नेपालमै पहिलो पटक म्याग्नस कम्पनीले उत्पादन गरेको हो।
मोमेटासोन फ्युरोएट अणुमा आधारित यो न्याजल स्प्रे एलर्जिक राइनाइटिस (नाकको एलर्जी) नाकभित्रको पोलिप्स लगायतका समस्याको उपचारमा प्रभावकारी मानिन्छ। यसअघि यस्तो औषधि विदेशबाटै आयात गरिन्थ्यो, तर अब म्याग्नस फार्माले यसलाई स्वदेशमै उत्पादन गरेर औषधिमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यमा योगदान गरेको छ।
म्याग्नस फार्माका प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्केले नयाँ औषधि उत्पादन गरेको जानकारी दिनुभयो । उहाँले नवीनता र समाजका अपूरा आवश्यकता पूर्तिमा विश्वास गर्ने जानकारी दिनुभयो ।
उहाँले नेपाली बजारमा पहिलोपटक मोमेटासोन न्याजल् स्प्रे उत्पादन सुरु गरेको जानकारी दिदै अन्य आधुनिक र गुणस्तरीय औषधिहरू नेपाली जनताको पहुँचमा ल्याउने बताउनुभयो ।
हालसम्म नेपालको फर्मास्युटिकल क्षेत्रमा न्याजल स्प्रे उत्पादनको कुनै प्रयास नभएको अवस्थामा म्याग्नस फार्माको यो कदमले उद्योगमा नयाँ अध्याय सुरु गरेको जनाएको छ। स्वास्थ्य क्षेत्रमा आयातमा निर्भरता घटाउने मात्र होइन, नेपाली बजारमा सुलभ मूल्यमा गुणस्तरीय औषधिको पहुँचसमेत बढाउने अपेक्षा गरिएको छ।