भोलीबाट अस्पताल सुचारु हुने
काठमाडौँ, २४ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मङ्गलबार राती भएको वार्तामा सरकार र नेपाल चिकित्सक संघबीच तीनबुँदे सहमति भएको हो ।
अब बुधबार (भोली)देखि सम्र्पूण अस्पताल सहज रुपमा सुचारु हुनेछन्। चिकित्सक संघले आन्दोलन फिर्ता लिएको छ ।
स्वास्थ्य मन्त्रालयमा चिकित्सक संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय कुमार चौरसिया र उद्योग,बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित भएको वार्तामा सहमति भएको हो ।
स्वास्थ्य सचिव विकास देवकोटाले दिनुभएको जानकारी अनुसार चिकित्सकहरुको माग सम्बोधन गर्न विद्यमान कानूनी एवं नीतिगत व्यवस्थामा आवश्यक संशोधन लगायतका विषयमा सात दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने सहमती भएको छ ।
समितीको संयोजकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुख हुनुहुन्छ । सदस्यमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहनुहुनेछ ।
कार्यदलबाट प्राप्त प्रतिवेदन तीनै जना मन्त्री र नेपाल चिकित्सक संघ लगायतका सरोकारवाला पक्षहरु सम्मिलित वार्ता टोलीमा पेश गरी सोहि अनुसार कार्यान्वयन गर्ने सहमति भएको हो ।
उपभोक्ता संरक्षण ऐन २०७५ लगायतका विद्यमान कानूनी तथा नीतिगत व्यवस्थाको आवश्यक संशोधनका लागि ७ दिन भित्रमा नेपाल सरकार मन्त्रिपरिषदबाट सम्बन्धित मन्त्रालयले सैद्धान्तिक सहमति लिने सहमति भएको छ ।
उपभोक्ता अदालतले चिकित्सकीय अभ्यास सम्बन्धी पछिल्ला मुद्दामा नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले सोमबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको थियो ।
