काठमाडौं, २ जेठ । बानेश्वरस्थित निजामती अस्पतालले आइतबारदेखि निजामती कर्मचारीलाई लक्षित गरी सन्ध्याकालीन सेवा सुरु गर्ने भएको छ।
सन्ध्याकालिन सेवा आइतबारदेखि साँझ ४ देखि राति ८ बजेसम्म उपलब्ध हुनेछ।
अस्पतालका निर्देशक डा. मोहन रेग्मीले निजामती अस्पतालले सन्ध्यकालिन सेवालाई दिनभरि लाइन बस्नुपर्ने समस्या र सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले विस्तार गरेको बताउनुभयो ।
अस्पतालका निर्देशक डा. रेग्मीले निजामती कर्मचारीलाई कार्यालय समयमा उपचार गर्न सकस भएको गुनासो आएकाले सेवालाई विस्तार गरिएको जानकारी गराउनुभयो ।
‘निजामती कर्मचारी कार्यालय समयमा आउँदा दिनभरि लाइन बस्नुपर्ने भन्दै उहाँले सेवाग्राहीले दुःख पाउने भएकाले यस्तो व्यवस्था गरिएको बताउनुभयो ।
डा. रेग्मीले सन्ध्याकालीन सेवा दिउँसोकै शुल्कमा उपलब्ध गराइने बताउनुभयो।
ओपीडी, ल्याब र अन्य परीक्षणका सेवा राति ८ बजेसम्म दिने भन्दै रेग्मीले अहिलेका लागि भएकै जनशक्तिले व्यवस्थापन गरेको उल्लेख गर्नुभयो ।
हाल अस्पतालमा दैनिक ओपीडी एक हजार २०० तथा शल्यक्रियामा ३५ जनाले सेवा लिने गरेका छन् ।