काठमाडौँ, २३ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आधारभूत अस्पतालको नेतृत्व जनस्वास्थ्य अधिकृतले गर्नुपर्ने बताएका छन् । उनले आफू आधारभूत अस्पतालको नेतृत्व जनस्वास्थ्य अधिकृतले गर्नुपर्छ भन्ने पक्षमा रहेको प्रष्ट पारे ।
नेपाल जनस्वास्थ्य संघ (नेफा)को आयोजनामा भएको ‘प्रथम राष्ट्रिय जनस्वास्थ्य दिवस’को उद्घाटन गर्दे उनले आधारभूत अस्पतालको प्रमुख जनस्वास्थ्य अधिकृतले गर्नुपर्छ भन्ने पक्षमा रहेको बताएका हुन् ।
मन्त्री पौडेलले ‘उपचारात्मक सेवा सन्तोषजनक रहेपनि देशमा बिरामीको संख्या बढ्दो रहेको बताए । उनले अबका दिनमा राज्यले उपचारमा खर्च गर्न नसक्ने अवस्था आउनसक्नेतर्फ संकेत गर्दै अब रोग लाग्न नदिनका लागि काम गर्नुपर्ने र त्यसको लागि जनस्वास्थ्य विषयमा अध्ययन गरेका व्यक्तिले मात्र सक्ने बताए ।
७५३ वटै स्थानीय तहमा आधारभूत अस्पताल चाहिने हो भने त्यो अस्पतालको प्रमुख जनस्वास्थ्य अधिकृत हुनुपर्छ भन्ने पक्षमा आफू रहेको उनको भनाई छ ।
‘नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलबिक्रम कार्कीले मन्त्रीले भनेको कु्रा सम्भव हुनै नसक्ने बताए । उनले अस्पतालले निदातात्मक नभई उपचारात्मक सेवा दिने हो भन्दै अस्पतालको प्रमुख चिकित्सक नै हुनुपर्ने दाबी गरे ।
स्वास्थ्य सचिव डा रोशन पोखरेलले स्वास्थ्य ऐन छुट्टै बन्ने तयारीमा रहेको जानकारी दिए । उनले ‘स्वास्थ्य ऐन छुट्टै चाहिन्छ भन्ने पक्षमा मन्त्रालय रहेकोले त्यसको लागि लागिपरेको बताए । छुट्टै ऐन बन्दै गर्दा जनस्वास्थ्यकर्मी, चिकित्सक वा अन्य स्वास्थ्यकर्मीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा ध्यान केन्द्रीत हुनुपर्ने बताए ।
सचिव डा पोखरेलले ‘क्युरेटिभ र प्रिभेन्टिभ’ दायित्व बोकेका स्वास्थ्यकर्मीहरु आपसमा वादविवाद गर्नु भन्दा एकजुट भएर स्वास्थ्य क्षेत्र सम्हाल्नु राम्रो हुने धारणा व्यक्त गरे ।
नेफाका अध्यक्ष कृष्णमान शाक्यले जनस्वास्थ्यका क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने आवश्यकता देखिएको बताए । स्वास्थ्य राष्ट्र निर्माणका लागि जनस्वास्थ्यका लगानी भन्ने नारासहित यसपटक दिवस मनाउन लागिएको भन्दै अब प्रिभेन्सनका लगानी बढाउनु पर्ने बताए ।
कार्यक्रममा नेफाका महासचिव कैलाशखाकी श्रेष्ठले निदानात्मक विषयमा जनस्वास्थ्यकर्मीको महत्वपूर्ण भूमीका हुने बताए ।
उनले जनस्वास्थ्यकर्मीको महत्व र दिवसको बारेमा प्रकाश पारेका थिए ।
विसं २०४७ साल मंसिर २३ गते स्थापना भएको नेपाल जनस्वास्थ्य संघले पहिलो पटक राष्ट्रिय रुपमा जनस्वास्थ्य दिवस मनाउन लागेको हो ।