• सोमबार, १५ भदौ २०८३
  • images

    उपत्यकामा एक सय ५९ जनामा सङ्क्रमण

    उपत्यकामा एक सय ५९ जनामा सङ्क्रमण

    ७१ जिल्लामा देखियो डेङ्गु

    शनिबार, असार १ २०८१
    शनिबार, असार १ २०८१
    उपत्यकामा एक सय ५९ जनामा सङ्क्रमण

    काठमाडौँ, १ असार । काठमाडौं उपत्यकामा १५९ जनामा डेङ्गु  सङ्क्रमण देखिएको छ ।
     इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले  काठमाडौंमा ११४ जना, भक्तपुरमा २७ जना र ललिपतुरमा १८ जनामा सङ्क्रमण देखिएको जानकारी दिए। 

    डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ। ती फुलबाट लार्भा निस्कने र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ।

    डेङ्गु सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन् ।  लामखुट्टेबाट बच्नका लागि सधँै झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ । 

    यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरी गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिन हुँदैन। 

    ७१ जिल्लामा देखियो डेङ्गु 

    डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको बताए। 

    उनले गर्मीमा मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको बताए। “गर्मीमा पानी सङ्कलन गरेर राख्ने गरिन्छ । त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ”, उनले भने।

    उनका अनुसार ७१ जिल्लामा एक हजार एक सय ३० जनामा सङ्क्रमणमा देखिएको छ। गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनालाई डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो। उनका अनुसार कोशी प्रदेशमा दुई सय ७२, मधेस प्रदेशमा ३०, बागमती प्रदेशमा तीन सय ९०, गण्डकी प्रदेशमा एक सय ७५, लुम्बिनी प्रदेशमा एक सय ३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा एक सय १५ जनामा सङ्क्रमण देखिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार