काठमाडौं, १ फागुन । नेपाल लिटरेचर फेस्टिभल २०२४ मा जनस्वनास्थ्यका लागि हानिकारक सूर्तीजन्य पदार्थ उत्पादक कम्पनी मुख्य प्रायोजक भएर लोगो प्रबर्द्धन गरिएको विषयको सर्वत्र विरोध भएको छ ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठान र नेपाल अर्बुद रोग निवारण संस्थाले सूर्तीजन्य पदार्थ उत्पादक कम्पनी मुख्य प्रायोजक भएर लोगो प्रबर्द्धन गरिएको विषयको बिरोध गरेका छन् ।
प्रतिष्ठानका अध्यक्ष डा जयकुमार गुरुङ र नेपाल अर्बुद रोग निवारण संस्थाका महासचिव दीपेन्द्र बान्तवाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।
कानुन विपरित प्रायोजनका साथै सार्वजनिक व्यक्तित्वको सहभागिता रहने प्रचार गरिएको भन्दै यसअघि एक्सन नेपाल र उपभोक्ता हित संरक्षण मञ्चले पनि विरोध जनाइसकेका छन्।
नेपालमा सूर्तिजन्य पदार्थको सेवनबाट प्रतिवर्ष ३७ हजार ५२९ जनाको ज्यान जाने गरेको तर्फ समेत ध्यानाकर्षण गराइएको छ। यसैगरी सूर्तीजन्य पदार्थको न्युनिकरण, नियन्त्रण तथा नियमनका लागि सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, नियमावली तथा निर्देशिकातर्फ ध्यानाकर्षण गराइएको छ।

