विराटनगर, १४ जेठ । साविकको प्रदेश नम्बर १ लाई कोशी प्रदेश राखिएको विरोधमा आन्दोलन भएको छ ।
कोशी प्रदेश नामावलीमा विरोध गर्ने आन्दोलनकारीको समूह र प्रहरीबीच आईतबार भएको झडपमा केही प्रहरी तथा केही आन्दोलनकारी घाईते भएका छन् ।
कोशी प्रदेशको विराटनगरस्थित स्वास्थ्य मन्त्रालयमा तोडफोड गरिएको छ । मध्यान्न देखि उग्र हुँदै गएको आन्दोलनले हिंसात्मक रुप लिँदा स्वास्थ्य मन्त्रालयमा तोडफोड भएको हो ।
आन्दोलनकारीले स्वास्थ्यमन्त्रीको कार्यकक्ष पनि तोडफोड गरेका थिए ।
स्वास्थ्य मन्त्रालयकी सचिव डा सुधा देवकोटाले आईतबार दिउँसो मन्त्रालय र त्यस वरपरका क्षेत्र अशान्त भएको जानकारी दिनुभयो । उहाँले जुलुसलाई अघि बढ्न खोज्ने आन्दोलनकारी र रोक्न खोज्ने पुलिसबीच देवकोटा चोकमा झडप भएपछि त्यसले उग्र रुप लिएको जानकारी दिनुभयो ।
प्रहरीले आन्दोलनकारीतिर फ्याकेको टिएर ग्याँस आन्दोलनकारीले टिपेर उनीहरु तिर र स्वास्थ्य मन्त्रालयमा फ्याकिदिएका थिए । त्यसले मन्त्रालय भित्र काम गर्ने कर्मचारीलाई समेत असर परेको थियो । दिउसो करीव साढे १ बजे देखि भने आन्दोलनकारीहरुले प्रहरीलाई पछाडी धकेली तोडफोडमा उत्रिएका थिए ।
‘स्वास्थ्य मन्त्रालय भवनको झ्यालको सिसाहरु सबै फुटेका छन् । पार्किङ गरेर राखेको गाँडी माथि तोडफोड गरिएको छ । मोटरसाइकलहरु माथि पनि तोडफोड भएको छ । मन्त्रालयका कर्मचारीहरु माथिल्लो तल्लाको कुनामा गएर सबै ढोका लगाएर बसेको र ज्यान जोगाएका थिए । घटनाको बेलामा स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बू पनि कार्यकक्षमै हुनुहुन्थ्यो ।
करीब एक घण्टा पछि प्रहरीले आन्दोलनकारीलाई तितरबितर पारेपछि मात्रै मन्त्री त्यहाँबाट निस्केर संसद भवन जानुभएको थियो । मन्त्री लिम्बूले संसदमा पुगेरआफू राज्य पक्ष र आन्दोलनकारी पक्ष दुबैको निसानामा परेको बताउनुभएको थियो ।
