काठमाडौं,३ जेठ। नेपाल हार्ट फाउण्डेशनका अनुसार नेपालमा १८ वर्ष माथिको जनसंख्यामध्ये एक तिहाई जनसंख्यामा उच्चरक्तचाप रहेको छ।
उच्च रक्तचाप भएकामध्ये ९० प्रतिशतलाई आफूलाई उच्च रक्तचाप भएको थाहै हुन्न।
मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले उच्च रक्तचापले ह्दयघात, मस्तिष्कघात, अन्धोपन, मिर्गौला फेल जस्ता जटिल रोग ल्याउने हुनाले बेलैमा सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।
कतिपयले चिकित्सकसंग विनापरामर्श औषधि छोड्नाले रक्तचापले स्वास्थ्यमा समस्या पुर्याउने बताउनुभयो ।
उहाँले लकडाउनले मानिसलाई चिन्ता बढाउने हुदा चिन्ता बढेपछि उच्चरक्तचाप पनि बढ्ने बताउनुभयो । मानसिक तनाव रक्तचापको मुख्य कारण हो भन्दै उहाँले यसले थप जटिलता ल्याउन सक्ने बताउनुभयो ।
डा. रेग्मीले ९० प्रतिशतलाई कुनै लक्षण नहुने भएकोले समस्या हुने भन्दै उच्चरक्तचाप आधाको सिद्धान्तमा आधारित रोग भएको बताउनुभयो । आफूलाई उच्चरक्तचाप छ भन्ने थाहा हुदाहुदै उपचार गरेपनि आधाजनसंख्यालाई रक्तचाप रहिरहने बताउनुभयो । लकडाउनमा मानिसले नियमित रक्तचाप परीक्षण गर्न नपाउने भएकोले समस्या हुने उहाँको भनाइ छ । उहाँले कतिपयको औषधि सकिएकोले नियमित औषधि सेवन नगर्ने हुदा त्यसले झन जटिल समस्या ल्याउनसक्ने बताउनुभयो ।
मुटुरोग विशेषज्ञ डा. रेग्मीले विश्वभर उच्च रक्तचापका बिरामी बढिरहेको बताउनुभयो । उहाँले उच्च रक्तचाप मुटुरोगका कारकमध्ये एक प्रमुख कारक रहेको बताउनुभयो। उच्च रक्तचाप विश्वव्यापी रुपमा मुख्य स्वास्थ्य समस्याको रुपमा देखिएको बताउनुभयो ।
उच्च रक्तचाप मुटुरोग जस्तै ह्दयघात, पक्षघात,मिर्गौला, अन्धोपन जस्ता रोगको प्रमुख कारकमध्ये एक भएको भन्दै उहाँले कतिपय मानिसलाई रक्तचाप भएको थाहै नहुने उल्लेख गर्नुभयो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १ करोड जनाको मृत्यु उच्चरक्तचापका कारणले भइरहेको उल्लेख गर्नुभयो ।
माथिको रक्तचाप १३० वा बढि र तलको रक्तचाप ८० वा बढि भएको अवस्थालाई उच्च रक्तचाप हुने बताउनुभयो । सामान्य अवस्थामा १२० र ८० भन्दा कम रक्तचाप हुनु पर्दछ ।
उच्चरक्तचापका लक्षणहरु
सामान्यतया उच्च रक्तचापका लक्षणहरु देखिदैनन । ९० प्रतिशतलाई आफूलाई उच्चरक्तचाप भएको थाहा हुदैन । नियमित बिरामीको परीक्षण गर्दा मात्र उच्चरक्तचाप भए नभएको थाहा हुन्छ । उच्चरक्तचाप भएकाहरुमा रिँगटा लाग्ने, टाउको दुख्ने (पछाडीको भाग), मुटु हल्लने, आँखा धमिलो देख्ने लगायतका लक्षण हुनसक्छ ।
असर
उच्च रक्तचापले मुटु, मस्तिष्क,मिगौला, आँखालाई असर गर्ने हुँदा उच्च रक्तचापको बिरामीले चिकित्सकको सल्लाह अनुसारको उपचार गर्नुपर्छ । उच्चरक्तचाप भएको अवस्थामा नियमित औषधि समेत खानुपर्छ ।
सावधानी
नुनको मात्रा कम खानुपर्छ । १ दिनमा २ ग्राम मात्र नुन खानु उपयुक्त हुन्छ । नियमित सेवन गरेको औषधि चिकित्सको सल्लहबिना छोड्नुहुँदैन । मानसिक तनाबबाट टाढा रहने जसको लागि दैनिक रुपमा योगा र ध्यान गर्ने । दैनिक रुपमा कम्तिमा ६ घन्टा सुत्नुपर्छ । धुम्रपान र मद्यपानबाट टाढा हुनुपर्छ । जिवनशैलीबाट केहि मात्रामा उच्च रक्तचाप घटाउन सकिन्छ । त्यसबाट रक्तचाप लक्ष्यअनुसार नियन्त्रण नभएमा चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुको साथै नियमित फलोअपमा आउनुपर्छ ।