चितवन, १९ चैत । घरमै सुत्केरी हुने क्रममा चितवन जिल्लाको राप्ती नगरपालिकाको विकट पहाडी क्षेत्र वडा नं ११ सिमलडाँडाकी अस्मिता चेपाङको मृत्यु भएको छ।
शनिबार शिशुलाई जन्मदिएपछि ३५ वर्षीया चेपाङको मृत्यु भएको हो।
नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक राममणि सिलवालले शालनाल जबरर्जस्ती निकाल्न खोज्दा मृत्यु भएको बताउनुभयो।
राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले चेपाङको मृत्यु भएको जानकारी दिनुभयो।
दुई पटक गर्भ परीक्षण गर्न स्वास्थ्य संस्था जानु भएको रहेछ, तर सुत्केरी हुन स्वास्थ्य संस्था जाउँ भन्दा नमानेर घरमै सुत्केरी हुँदा उहाँको मृत्यु भयो लामाले भन्नुभयो।
घटनास्थल पुगेका स्वास्थ्यकर्मीलाई उदृत गर्दै लामाले ती महिलाको पाठेघर बाहिर निस्किएर उच्च रक्तस्रावका कारण मृत्यु भएको बताउनुभयो।
नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक राममणि सिलवालले शुक्रबारदेखि सुत्केरी व्यथा लागेकी चेपाङको घरमै शिशुको जन्म भएको तर शालनाल निकाल्ने क्रममा जबरर्जस्ती गरेका कारण पाठेघर बाहिर निस्किएर मृत्यु भएको बताउनुभयो ।
विकट पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय शिक्षा, स्वास्थ्यको पहुँचबाट निकै पछाडि छन्।
यसअघि दुई सन्तानलाई जन्म दिएकी चेपाङको यो तेस्रो बच्चा हो। शिशुको स्वास्थ्य अवस्था भने राम्रो रहेको उहाँले बताउनुभयो।