वीरगंज, ६ चैत । वीरगंज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुकी मनिषा चौधरी विजयी हुनुभएको छ ।
आइतवार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार अनेरास्ववियुकी चौधरीले ९१ मत प्राप्त गरी विजयी हुनुभएको हो । प्रतिष्पर्धी नेविसंघकी यामिनी खड्काले ६० मत ल्याउनुभएको छ ।
यसैगरी, सचिवमा अखिलकै सृष्टि तिमिल्सिना ८९ मत, कोषाध्यक्षमा अर्चना गुप्ता ९२ मत ल्याएर विजयी हुनुभयो ।
सदस्यमा विवेक रानाभाट र स्मृति थापा विजयी हुनुभएको छ ।
आईतबार भएको निर्वाचनमा कुल मतदातामध्ये दुईजनाबाहेक सबैले मतदान गरेका छन् ।
१५६ जना मतदाता रहेको वीरगंज नर्सिङ क्याम्पसमा निर्वाचनमा १५४ जना सहभागी भएका थिए । दुईजना बाहिर गएकाले सहभागी हुन नसकेको क्याम्पस प्रशासनले जनाएको छ ।
समानुपातिक तर्फ अनेरास्ववियुले ९० र नेविसंघले ६३ मत प्राप्त भएको छ ।
यसअघिको निर्वाचनमा विरगञ्ज नर्सिङ क्याम्पसमा नेविसंघले जितेको थियो ।
