काठमाडौँ,२ माघ । बाथरोग सम्बन्धि साताव्यापी निःशुल्क बाथरोग शिविर सञ्चालन हुने भएको छ ।
नेपालमा बढ्दै गइरहेको बाथरोगको पहिचान तथा बिरामीलाई उपचारको पहुँचमा ल्याउनका लागि
नेशनल बाथरोग सेन्टर र बद्री–तीर्थ आरथ्राइटिस समाजको संयुक्त आयोजनामा माघ ३ देखि ९ गतेसम्म साताव्यापी निःशुल्क बाथरोग स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो ।
बाथरोग शिविर नेशनल बाथरोग सेन्टर रातोपुलमा हुने छ ।
बाथरोग सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले बाथरोग पहिचानका लागि हुने शिविरमा सिरापी, इएसआर, युरिक एसिड र सुगर परीक्षण निःशुल्क गरिने बताउनुभयो ।
उहाँले हरेक वर्ष माघ महिनामा बाथरोग सम्बन्धि जनचेतना फैलाउने अभियान अन्तर्गत सो शिविर सञ्चालन आयोजना गरिएको बताउनुभयो ।
सोमबार आयोजित बाथरोग सचेतना कार्यक्रममा वरिष्ठ वाथरोग विशेषज्ञ डा विनित वैद्यले वाथरोगले मानिसका शरीरका सबै अङ्गलाई हानी गर्ने भएकोले बाथरोगबारे सचेत हुनुपर्ने बताउनुभयो ।
नेशनल बाथरोग सेन्टरले सन् २०१२ देखि बाथरोग जागरण अभियान शुरु गरेको जानकारी दिदै कक्षपतिले एक वर्षमा २२५ जना विपन्न बाथरोगीलाई निःशुल्क उपचार गरेको बताउनुभयो ।
बाथरोग विशेषज्ञ डा.विनित बैद्यले बाथरोग शिविरबाट यसअघि पनि धेरै बिरामी लाभान्वित भएको जानकारी दिनुभयो । उहाँले सरकारी स्तरबाटै बाथरोग प्राथमिकतामा नपरेको बताउनुभयो ।
डा. बैद्यले बाथरोग केन्द्रले सिन्धुपाल्चोक, काठमाडौ र धादिङमा गरिएको अनुसन्धानमा गाउँमा ३० प्रतिशत र शहरमा १० प्रतिशतलाई बाथरोग रहेको जानकारी पनि दिनुभयो । । डा.बैद्यले बाथरोग एकसय भन्दा बढी किसिमका हुने भन्दै हडीको बाथ, लुपस, नसाको बाथ धेरै देखिने जानकारी दिनुभयो । उहाँले बाथरोग सुरुमै पहिचान गर्न सके निको हुने र औषधि निश्चित अवधि सेवन गरे पुग्ने भन्दै जटिल किसिमको बाथरोगलाई पूर्ण निको पार्न नसकिने र औषधि जिववभर सेवन गर्नुपर्ने बताउनुभयो ।