धनगढी, १७ पुस । सुदूरपश्चिमकै रिफरल अस्पताल सेती प्रादेशिक अस्पतालमा मुख नखुल्ने समस्याको पहिलोपटक शल्यक्रिया गरिएको छ। उक्त शल्यक्रिया प्रदेशमै पहिलोपटक भएको हो।
मुखको हड्डीमा चोट लागेर करिब २२ वर्षदेखि राम्रोसँग मुख खोल्न नसक्ने कमल बोहोराको शल्यक्रिया गरी मुख खोलिएको छ। ६ र ७ वर्षकै उमेरदेखि यो समस्या रहेका कमललाई उपचारका लागि परिवारका सदस्यले देशका विभिन्न ठाउँमा पुर्याए पनि उपचार भएको थिएन।
कैयौं ठाउँमा पालो नै नआउने त कति ठाउँमा महंगीका कारण कमलको उपचार हुन सकेको थिएन। उहाँ उपचारकै लागि केही समयअघि सेती प्रादेशिक अस्पतालमा पुगेका थिए। दाँत तथा मुख विभागमा आउँदा उनको मुख मुस्किलले २ मिलिमिटर जति मात्रै खुलिरहेको थियो।
पछि उहाँको एक्सरे, सिटी स्क्यान लगायतका जाँच गर्दा सानैमा मुख खुल्ने बन्द हुने जोर्नी अर्थात टेम्पोरो मेन्डिबुलर जोइन्टमा चोट लाखेका कारण समस्या भएर उक्त जोर्नी फ्युज भएर उनको मुख नखुल्ने भएको पाइयो।
ओरल एण्ड म्याग्जिलोफेसियल सर्जन डा. दीपक ठकुराठीले यो उपचारको नेतृत्व गर्नुभएको थियो । यस्तो अवस्थाका बिरामीलाई मुखबाट फोक्सोसम्म पाइप राखेर बेहोस पारिने र त्यसपछि मात्र उपचार हुने ठकुराठीले बताउनुभयो।
तर कमलको केशमा बेहोस गराउन सम्भव थिएन। जसका कारण नाकबाट फोक्सोसम्म पाइप पुर्याएर कमललाई बेहोस गरियो। डा. ठकुराठीको नेतृत्वमा करिब ६ घण्टा लगाएर शल्यक्रिया गरियो। टोलीमा एनेस्थेसियाका विशेषज्ञ डा नितेश काफ्ले र डा कपिल गौतम, नाक–कान तथा घाँटीका विशेषज्ञ डा दीपक कार्की र डेन्टल सर्जन डा अमृत जैशी हुनुहुन्थ्यो ।
उक्त शल्यक्रियापछि एक हप्ता वार्डमा राखिएको थियो। अहिले कम सामान्य भएर घर फर्किसकेको डा ठकुराठीले जानकारी दिए। अस्पताल आउँदा मुस्किलले २ मिलिमिटर मात्र खुल्ने उनको मुख अहिले २५–३० मिलिमिटर खुल्ने भएको उहाँले बताउनुभयो ।