काठमाडौँ, ९ मङ्सिर । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ७४ दशमलव १६ प्रतिशत चिकित्सक उत्तिर्ण भएका छन् ।
यो प्रतिशत विगतको भन्दा बढी हो ।
यसअघि सम्पन्न विशेषज्ञ चिकित्सक लाईसेन्स परीक्षामा ६८ दशमलव ६ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण भएका थिए ।
काउन्सिलका प्रवक्ता डा.कृष्ण अधिकारीका अनुसार परीक्षामा ४७६ जना सहभागी भएकोमा ३५३ जना उत्तीर्ण भएको जानकारी दिनुभयो ।
परीक्षामा १२२ जना अनुत्तीर्ण भएका छन् । एक जनाको भने नतिजा रोकिएको छ ।
काउन्सिलले परीक्षामा चित्त नबुझे ३५ दिनभित्र पुनर्योगका लागि आवेदन दिन सक्ने सूचित गरेको छ ।