शनिबार प्रभातफेरी कार्यक्रम गर्ने
ललितपुर, २३ कात्तिक । ललितपुरस्थित आरुस लाइफस्टाइल अस्पतालले विश्व मधुमेह दिवसको अवसर पारेर प्रभातफेरी कार्यक्रमको आयोजना गर्ने भएको छ ।
बुधबार अस्पतालले पत्रकार सम्मेलन गर्दै मधुमेह रोग सम्बन्धी जनचेतना जगाउने उद्धेस्यले प्रभावफेरीको आयोजना गर्न लागेको जानकारी दिएको छ ।
अस्पतालले मधुमेह तथा इन्डोक्रिनोलोजी एसोसिएसन अफ नेपाल, प्रज्ञा फाउन्डेसन नेपाल, साउथ एसियन फेडेरेसन अफ इन्डोक्राइन सोसाइटीज र रोटरी क्लब अफ एलको सहकार्यमा उक्त कार्यक्रम गर्न लागेको हो ।

शनिबार बिहान ७ बजे पाटन दरबार स्क्वायर परिसरबाट वाकाथन सुुरु भई पुल्चोक, कुपन्डोल हुँदै माइतीघर मण्डलामा गएर अन्तरक्रिया कार्यक्रम भई समापन हुनेछ ।
नेपालमा पछिल्लो समय प्रि डाइबेटिज, डाइबेटिज, मोटोपना अत्यधिक बढिरहेको सन्दर्भमा यसलाई कसरी कम गर्न सकिन्छ भन्दै उक्त वाकाथन कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा अस्पतालका सिइओ डा. सन्तोष शाक्यले मधुमेह सम्बन्धी जनमानसमा रहेको भ्रम हटाई यसबारे जनचेतना जगाउनुपर्ने बताउनुभयो ।
उहाँले मधुमेह भइसकेपछि यसको उपचारमा जाने भन्दा पनि यो रोग लाग्नु भन्दा पहिलेदेखि नै जीवनशैली र खानपानमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा साउथ एसियन फेडेरेसन अफ इन्डोक्राइन सोसाइटीजकी अध्यक्ष डा दिना श्रेष्ठले मधुमेहकाबारेमा अझै पनि जनमानसमा चेतना नपुगेको बताउनुभयो ।

उहाँले मधुमेहबारे व्यापक चेतना बढाउनुपर्नेमा जोड दिदै वयस्कमा र अलि बढी उमेरमा हुने टाइप २ मधुमेह अहिले सानै उमेरदेखि देखिन थालेको जानकारी दिनुभयो ।
उहाँले यसबारे बेलैमा सचेत भएर पाइला चाल्नुपर्ने बेला अवस्था आएको बताउनुभयो ।
मेडिकल डाइरेक्टर डा अमित शाक्यले उक्त प्रभातफेरी कार्यक्रममा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन प्रमुख अतिथी र काठमाडौं महानगरपालिकाका उप मेयर सुनिता डंगोल विशेष अतिथीका रुपमा सहभागी हुने अस्पतालका जानकारी दिनुभयो।
नेपालमा मधुमेहको व्यापकता शहरी क्षेत्रमा १५ प्रतिशत र ग्रामीण क्षेत्रमा ५ प्रतिशतसम्म रहेको अनुमान गरिएको छ । हरेक वर्ष नोभेम्बर १४ तारिखका दिन मधुमेह रोग सम्बन्धी जनचेतना जगाउने उद्धेस्यले विश्व मधुमेह दिवस मनाउने गरिन्छ ।
