• सोमबार, १५ भदौ २०८३
  • images

    राप्ती गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने

    राप्ती गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने

    तिलगंगा र राप्ती गाउँपालिकाबीच सम्झौता

    हेल्दीखबर
    बिहीबार , कात्तिक १७ २०७९
    हेल्दीखबर
    बिहीबार , कात्तिक १७ २०७९
    राप्ती गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने

    काठमाडौं,१७ कात्तिक । दाङको राप्ती गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ ।

     तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा उक्त गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुन लागेको हो । 
    अस्पताल र गाउँपालिकाबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    सम्झौता पत्रमा तिलगंगा आँखा प्रतिष्ठानको कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रिता गुरुङ र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले हस्ताक्षर गर्नुभएको छ । 
    सम्झौता अनुसार राप्ती गाउँपालिकाको सिसहनियाँमा आँखा अस्पताल खुल्ने छ ।  अस्पतालका लागि गाउँपालिकाले भवन र जग्गा उपलब्ध गराउने छ भने तिलगंगा आँखा प्रतिष्ठानले उपचारका लागि आवश्यक उपकरण र प्राविधिक जनशक्ति उपलब्ध गराउने छ ।

    सम्झौता पत्र अनुसार राप्ती गाउँपालिकाले उपलब्ध गराएको स्थानमा एक वर्षसम्म तिलगंगा अस्पतालले आफ्नै जनशक्तिबाट सेवा दिनेछ र उनीहरुलाई तलबसमेत खुवाउने छ । एक वर्षपछि भने आँखा उपचार केन्द्रमा प्रयोग भएको उपकरण पालिकालाई नै हस्तान्तरण गर्ने छ । साथै त्यहाँको जनशक्ति व्यवस्थापन, उनीहरुको पारिश्रमिक लगायत सबै जिम्मा पालिकाले लिने छ ।
    तिलगंगा आँखा प्रतिष्ठानको कार्यकारी निर्देशक डा.रीता गुरुङले आगामी दुई महिनापछि सिसहनियाँमा आँखा उपचारको लागि ओपीडी सेवा सुरु गर्ने लक्ष्य रहेको बताउनुभयो। त्यसको तयारीका लागि तिलगंगा आँखा अस्पतालबाट चिकित्सक र इन्जिनियरसहितको टोली सिसहनियाँ जाने उहाँको भनाई छ । उहाँले स्थानीय पालिकाहरुसँगको सहकार्य तथा तिलगंगा आँखा प्रतिष्ठानको आर्थिक र व्यवस्थापकीय सहयोगमा आँखा उपचार केन्द्र खोल्ने योजना अनुसार राप्ती गाउँपालिकाको सिसहनियाँमा सेवा सुरु गर्न लागिएको बताउनुभयो ।
     यस्ता उपचार केन्द्र देशका विभिन्न ३२ स्थानमा खोलिसकिएको जानकारी पनि उहाँले दिनुभयो ।
    सम्झौतापछि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले तत्कालको लागि अहिलेको सिसहनियाँ स्वास्थ्य चौकी रहेको भवनमा ग्रामिण आँखा उपचार केन्द्र स्थापना हुने बताउनुभयो। 

    सम्झौतामा आँखा सम्बन्धी प्रवर्द्धनात्मक, प्रतिरोधात्मक र अनुसन्धानमुलक कार्यक्रम पनि सन्चालन हुने उनले जानकारी दिए । सिसहनियाँमा आँखा उपचार केन्द्र सुरु भएपछि राप्ती गाउँपालिकाका साथै गढवा गाउँपालिकाका बासिन्दा पनि लाभान्वित हुने अध्यक्ष विष्टको भनाइ छ ।
    कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत पिताम्बर अधिकारी, कार्यक्रम निर्देशक नवीन कुमार राई, रवी गौतम, डा.मोहन श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार