काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्रत्येक वडामा एमडीजीपी डाक्टर राख्ने प्रस्ताव गरेको छ । महानगरपालिकाले हरेक वडामा वडा क्लिनिक सञ्चालन गर्न यस्तो प्रस्ताव गरेको हो ।
महानगरको आठौं नगर बैठकमा मेयर बालेन्द्र शाहले ३२ वटै वडाका लागि ३२ जना एमडीजीपी डाक्टरको अस्थायी दरबन्दी स्वीकृत गरी करार सेवामा राख्ने प्रस्ताव राख्नुभएको थियो ।
उहाँले एमडीजीपी डाक्टरसंगै हरेक वडाका लागि भनेर ३२ जना नर्सको लागि अस्थायी दरबन्दी स्वीकृत गरी करार सेवामा राख्ने प्रस्ताव अघि सार्नुभएको छ ।
उहाँले स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै महानगरका सबै वडामा क्लिनिक सञ्चालन गर्ने तयारी गरेको र त्यसका लागि स्वास्थ्यका दक्ष जनशक्ति नियुक्त गर्न लागेको बताउनुभयो। महानगरका प्रमुख बालेन शाहले पहिले एमबिबिएस डाक्टर राख्ने योजना बनाए पनि अहिले फिजिसियन डाक्टर राख्दा उपयुक्त हुने भएकाले उक्त निर्णय गरेको बताउनुभयो ।
उहाँलेस्वास्थ्यमा साना समस्या आउँदा नजिकैको स्वास्थ्य केन्द्रमा गएर परामर्श लिन सकिने बताउनुभयो ।
‘स्वास्थ्यमा साना–साना समस्या आउँदा पनि अस्पताल नै जानुपर्छ भन्ने छैन,’ उहाँले भन्नुभयो,“ ‘कसैलाई पिसाब पोलेको हुन सक्छ। त्यसको लागि फिजिसियनसँग परामर्श लिन सकिन्छ।’ वडास्तरमा फिजिसियन मात्र हुँदा पनि अस्पतालमा चाप कम हुने उहाँको भनाई छ ।
यस्तै बैठकमा महानगरले खाद्य पदार्थको गुणस्तर जाँच गर्न महानगरमा ५ जना फुड इन्सपेक्टर राख्ने भएको छ । फुड टेक्नोलोजीमा स्नातकोत्तर गरेका उनीहरुले होटल, रेस्टुरेन्ट, मासु पसल, तरकारी फलफुल लगायतका खाद्य पदार्थको जाँच गर्ने दायित्व तोकिएको छ ।
नगरप्रमुख साहले यसपटक बढीमा ५ जनालाई फुड इन्सपेक्टरको रुपमा करार सेवामा नियुक्ति गर्ने प्रस्ताव राखेका थिए ।