काठमाडौँ । सरकारले एसिड आक्रमणमा परेका व्यक्तिको निःशुल्क उपचार गर्ने अस्पताल तोकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना प्रकाशित गर्दै काठमाडौंका चार मुख्य अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने छन् ।
आकस्मिक उपचार पछि थप उपचारका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौंको वीर अस्पताल, ललितपुरको पाटन अस्पताल र काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा निःशुल्क उपचार हुने जनाएको छ। एसिड आक्रमणमा परेका पीडितहरूको उपचारसम्बन्धी कार्यविधि २०७८’ अनुसार पीडितहरूको उपचार निःशुल्क गरिने भएको हो ।