भक्तपुर । नेपाल किसान मजदुर पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’लाई पत्नीशोक परेको छ । उहाँकी जीवन संगिनी शोभा प्रधान बिजुक्छेंको क्यान्सर रोगका कारण निधन भएको छ ।शोभा प्रधान लामो समयदेखि क्यान्सर रोगले ग्रसित हुनुहुन्थ्यो । ६५ वर्षिया प्रधानको बुधवार दिउसो निधन भएको हो ।
उपचारको क्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उहाँको निधन भएको हो । नेमकिपा भक्तपुरका जिल्ला अध्यक्ष एवं बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले प्रधानको क्यान्सर रोगले मृत्यु भएको बताउनुभयो ।
रामेछाप माइती भएकी प्रधानको २०४० सालमा नेता बिजुक्छेंसंग बिबाह भएको थियो । उहाँका २ छोरा छन् । प्रधानको पार्थिव शरीरलाई शुक्रवार अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।