काभ्रे ।
काभ्रेको नमोबुद्ध नगरपालिकामा अपांगता भएकाहरूका लागि स्वास्थ्यसहितका अत्यावश्यक सहायक सामग्री वितरण गरिने भएको छ । वडा कार्यालयमार्फत सबै वडामा रहेका अपांगता भएका व्यक्तिका लागि वितरण गर्न लागिएको सहायक सामग्री र स्वास्थ्य सामग्री हिजो नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले सम्बन्धित वडाका वडाध्यक्षहरूलाई हस्तान्तरण गर्नुभएको थियो । नगरपालिका स्तरीय अपांगता परिचयपत्र सिफारिस समन्वय समिति संयोजक एवं उपप्रमुख रामदेवी तामाङको अध्यक्षतामा भएको कार्यक्रममा ह्विल चियर १४ वटा, कमोड ट्वाइलेट १३ वटा, बैसाखी ६ वटा, दृष्टिविहीनका लागि सेतो छडी ५ वटा, लठ्ठी १५ वटा, फोस्टिक लठ्ठी एउटा वटा हस्तान्तरण गरिएको छ ।
यस्तै, १०० एमएलको स्यानिटाइजर ३५० थान, मास्क ३५० प्याकेट तथा मसक्विटो लिक्विड ४०५ थान हस्तान्तरण गरिएको छ । कार्यक्रममा नगरप्रमुख तिमल्सिनाले चालू आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रका लागि विशेष कार्यक्रम तय गरिएको र यसबाट ज्येष्ठ नागरिक र अपांगता भएकाहरू थप लाभान्वित हुने बताउनुभएको छ ।
उहाँका अनुसार नगरस्तरीय कार्यक्रमअन्तर्गत दाँतसहितको मुस्कान कार्यक्रमअन्तर्गत १०० जनाको दाँत राख्ने, तिलगंगा आँखा अस्पतालसँगको समन्वयमा सुगर र आँखा युनिट तयारी कार्यक्रम, नेपाल हियरिङ एन्ड स्पिच सेन्टर, यु नेपाल आई प्रोग्राम तिलगंगाको समन्वयमा १०० जनाका लागि कानमा राख्ने मेसिन वितरण हुनेछ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले अपांगता भएका व्यक्तिका लागि हस्तान्तरण भएका सामग्री सम्बन्धित वडा कार्यालयमार्फत वितरण हुने जानकारी दिनुभएको छ । उहाँले नगरपालिकाका प्रशासकीय भवनका साथै सबै वडा कार्यालय एवं स्वास्थ्य संस्था अपांगमैत्री बनाइएको बताउनुभयो ।