सोलुखुम्बु । सोलुखुम्बुको विभिन्न छ वटा स्थानीय तहका सञ्चालन गरिएको आँखा शिविरमा एकहजार पाँचसय जनाको आँखा परीक्षण भएको छ ।
छ स्थानीय तहका १० स्थानमा सञ्चालित आँखा शिविरबाट ६५ जना मोतियाबन्दिुका विरामी शल्यक्रिया गरिने भएको छ ।
जिल्ला सामूदायिक आँखा केन्द्र फाप्लुको आयोजनामा भएको शिविरमा जम्मा एक हजार ४९४ जनाको आँखाको परीक्षण भएको थियो ।
माप्य दूधकोशी गाउँपालिकाको काँकु र वाकुमा सञ्चालित शिविरमा ३६९ जनाको आँखा परीक्षण गरिएको छ । उक्त शिविरबाट १७ जना मोतिबिन्दुका बिरामी शल्यक्रिया गर्नुपर्ने भएको छ । यस्तै ५३ जनालाई चश्मा र बाँकीलाई औषधि वितरण गरिएको छ ।
थुलुङ दूधकोशी गाउँपालिकाको पञ्चन र देउसामा २१४ जनाको आँखा परीक्षणमा ११ जना मोतियाबिन्दुका विरामीलाई शल्यक्रियाको लागि छनोट गरिएको छ ।
जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख पुष्पबाबु बस्नेतका अनुसार सोताङ गाउँपालिकाको पावैमा १३२ जनाको आँखा परीक्षण गर्दा आठ जना, नेचासल्यानको विभिन्न स्थानमा २५९ जनाको आँखा परीक्षण गर्दा सात जना, महाकुलुङ गाउँपालिकाको गुदेलमा १४५ जनाको आँखा परीक्षणबाट १७ जना शल्यक्रियाका लागि छनोट गरिएको हो भने १०६ जनाले चस्मा सेवा लिएका छन् । सोलुदूधकुण्ड नगरपालिकाको सिसाखोलाको शिविरमा १४९ जनाको आँखा परीक्षण गर्दा आठ जना शल्यक्रियाका लागि छनोट गरिएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानका नेत्ररोग विशेषज्ञ डा. सिर्जना अधिकारीको टोलीले निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरिएको थियो ।