काठमाडौं, ७ साउन ।
दुबै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचाररत छन् । नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि कानुन विपरीत ३० लाख रुपैयाँ निकासा भएको छ । एमाले नेताहरुका अनुसार उहाँको मिर्गौला प्रत्यारोपण गरिनेछ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो ।
अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार दिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करिब ३० लाखको हिसाब पठाएको थियो । एमाले उपमहासचिव विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री रहँदा नै योे रकम निकासा भइसकेको छ ।पूर्ववर्ती सरकारका कतिपय निर्णय उल्टाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले खनालको उपचार खर्चसम्बन्धी गैरकानुनी निर्णयलाई कायम राख्नुभएको छ । साथै सरकारले सहयोग गर्ने आश्वासन समेत दिनुभएको छ ।