हेटौंडा,२ साउन । बागमती प्रदेश सरकारले कोरोना भाइरस विरुद्धको खोप खरिदका लागि २ अर्ब बजेट विनियोजन गरेको छ ।
बागमती प्रदेश सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेशका सबै नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले प्रदेश सरकारले प्राथमिकता दिएको हुनाले उक्त रकम विनियोजन गरेको जानकारी गराउनुभयो ।
मन्त्री बस्नेतलले मन्त्रालयको गतिविधिका बारेमा सञ्चारकर्मीसँग कुराकानी गदै सो कुराको जानकारी गराउनुभयो । उहाँले खोप खरिदका लागि प्रदेश सरकारले पहल गरिरहेको र सम्भव नभएमा संघीय सरकारसँग सहकार्य र समन्वय गरी प्रदेशका सबै नागरिकलाई खोप लगाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै, मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशनसमेत दिएको बताउनुभयो ।