काठमाडौं,२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा खोप छिटै दिने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा छिट्टै दिइने बताउनुभयो । उहाँले खोप केही दिनमा नै प्राप्त हुने जानकारी दिदै खोपको प्रतिक्षा गरिरहेका सबै ज्येष्ठ नागरिकलाई दोस्रो खोप दिन बताउनुभयो । हाल भेरोसेल खोप ५५ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरु, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरु खोप अनिवार्य गरेको देशमा जाने नेपालीहरुलाई दिइरहेको छ । उहाँले कोभिशिल्डको दोस्रो मात्राका रूपमा जापान सरकारले उपलब्ध गराउने एस्ट्राजेनिका खोप लगाइने बताउनुभयो । जापान सरकारले नेपाललाई कोभ्याक्समार्फत १६ लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गरेको छ । भारतको सिरम इन्स्टिच्युट कम्पनीले सरकारले खरिद गरेको कोभिशिल्ड खोप उपलब्ध नगराएपछि ज्येष्ठ नागरिकले खोप लगाउन नपाएका हुन् । गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्षमाथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाइएको थियो । मन्त्रालयले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी तथा एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने बताउनुभयो । यस्तै जोनसनको खोप ५० देखि ५४ वर्ष उमेरका एक मात्रा पनि खोप नलगाएका व्यक्तिहरु पुर्ण र अति अशक्त (वर्ग क र ख) अपांगता भएकाहरु हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीहरुका लागि तोकिएको छ ।
