• सोमबार, १५ भदौ २०८३
  • images

    वाग्मतीको शङ्खमूल क्षेत्रबाट चार मेट्रिक टन फोहर व्यवस्थापन

    वाग्मतीको शङ्खमूल क्षेत्रबाट चार मेट्रिक टन फोहर व्यवस्थापन

    हेल्दीखबर
    आइतबार, पुस २५ २०७८
    हेल्दीखबर
    आइतबार, पुस २५ २०७८
    वाग्मतीको शङ्खमूल क्षेत्रबाट चार मेट्रिक टन फोहर व्यवस्थापन

    काठमाडौँ । शङ्खमूल क्षेत्रको वाग्मती किनार दायाँबायाँ सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४५२औँ हप्तामा शनिबार गरिएको सफाइमा पुसको चिसो बेवास्ता गरी अभियानकर्मी बिहान ७ बजे नै नदी किनारमा जम्मा भएका थिए । सफाइमा पूर्वमुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौड्याल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तन्डुकार, विभिन्न सङ्घसंस्था, स्थानीयवासी, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी र वाग्मती सफाइ अभियानकर्मीको सक्रियता थियो ।

    सफाइबाट जम्मा भएको फोहर काठमाडौँ महानगरपालिकाको गाडीबाट व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । अर्को हप्ता माघ १ गते शनिबार शङ्खमूल पुल क्षेत्रमा बिहान ७ः३० देखि ९ः३० बजेसम्म सफाइ गरिने छ । माघेसङ्क्रान्ति पर्वको दिन परे पनि सफाइ महाअभियान नरोकिने उहाँले जानकारी दिनुभयो ।

    विसं २०७० जेठ ५ गतेदेखि महाअभियान सुरु भएदेखि चाडपर्व, चिसो, गर्मी, प्राकृतिक प्रकोपलगायत जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, चक्रपथ, मुख्य सांस्कृतिक सम्पदास्थललगायतमा पनि सफाइ अभियान सुरु भएको छ ।

    हाल काठमाडौँ उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको छ । काठमाडौँ उपत्यका बाहिरका मुख्य नदी, सहर र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । काठमाडौँ उपत्यका बाहिर १०९ स्थानमा सफाइ अभियान सुरु भएको जनाइएको छ । मनोहरा सफाइ अभियानको २५१औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटी पुल छेउको नदी किनारमा सफाइ गरिएको छ । सफाइमा विभिन्न संस्था, प्रहरी र स्थानीयवासी गरी १०० जनाको सक्रियता रहेको थियो । सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्र दङ्गालले राससलाई जानकारी दिनुभयो ।

    यसैगरी राजधानीको रुद्रमती, चक्रपथको उत्तरी र पश्चिमी खण्ड, विष्णुमतीको तल्लो र माथिल्लो भाग, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्तेलगायत नदीमा पनि शनिबार सफाइ गरिएको जनाइएको छ ।

    रासस 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार