काठमाडौं । सरकारले ६० वर्षमाथिकालाई दिने भनिएको कोरोना विरुद्धको अतिरिक्त खोप दिने निर्णय भएको २४ घण्टा वित्न नपाउँदै स्थगित गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारदेखि जेष्ठ नागरिक तथा दिर्घरोगीलाई थप मात्रा खोप दिने निर्णय गरेको थियो । स्वास्थ्य मन्त्रालयले अघिल्लो दिन गरेको निर्णय आज उल्ट्याउँदै थप खोप कार्यक्रम स्थगित गरेको जानकारी दिएको छ । नियमित खोप प्रभावित हुने भएकोले अतिरिक्त खोप स्थगित गर्नुपरेको प्रवक्ता मिश्रको भनाई छ ।
स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्राले तत्काललाई अतिरिक्त मात्रा खोप दिने निर्णय स्थगित गर्नुपरेको जानकारी दिनुभयो । उहाँले देशका नागरिकलाई कोरोना विरुद्धको पुरा मात्रा खोप उपलब्ध गराउन महत्वपूर्ण भएकोले राष्ट्रिय खोप अभियान सञ्चालन गर्ने र अतिरिक्त खोप कार्यक्रम पछि सुरु गरिने बताउनुभयो ।
मन्त्रालयले थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनामा अतिरिक्त खोपबारे जानकारी दिने मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।