काठमाडौ । सामाजिक सुरक्षा कोषले कोषमा आबद्ध योगदानकर्ताको उपचारका लागि सोझै अस्पताललाई अनलाइन भुक्तानी गर्ने भएको छ ।
कोषले आउँदो फागुन १ गतेदेखि अनलाइन भुक्तानीको व्यवस्था गर्न लागेको हो । कोषले हाल योगदानकर्ताले अस्पतालमा गरेको उपचार खर्चबापत दाबी गरेका बिलका आधारमा योगदानकर्तालाई भुक्तानी गर्दै आएको छ ।
सामाजिक सुरक्षा कोषसंग सम्झौता भएका अस्पतालमा योगदानकर्ताले उपचार गराउँदा लागेको खर्च कोषले ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५’अनुसार भुक्तानी गर्दै आएको छ । कोषले एक विज्ञप्ती जारी गर्दै सम्झौता हुँदाको बखत उल्लेख गरिएको दरमा ८० प्रतिशत कोषले रकम भुक्तानी गर्ने र बाँकी रहेको २० प्रतिशत रकम सम्बन्धित योगदानकर्ताले तिर्नुपर्ने जनाइएको छ ।
कोषले प्रत्येक प्रदेशमा कम्तीमा १० वटा र बढीमा जति पनि हुनसक्ने गरी अस्पताललाई कोषमा सूचीकृत गर्नका लागि टोली परिचालन गर्न लागिएको छ । कोषले सुरुवाती चरणमा केही अस्पतालमा सोझै भुक्तानीको परीक्षण गरेको छ । अस्पतालमा गरिएको परीक्षणपछि कोषमा आबद्ध भएका अस्पतालमा सो सेवा सञ्चालन हुने र फागुन १ गतेदेखि सोझै भुक्तानीको विधि कार्यान्वयन गर्नेगरी तयारी भइरहेको कोषले जनाएको छ ।
कोषले अहिलेसम्म कोषमा आबद्ध योगदानकर्ताको स्वास्थ्य उपचारका लागि देशभरका ११० वटा अस्पतालसँग सम्झौता गरिसकेको छ । सम्झौता भएको अस्पतालको मात्रै बिल भुक्तानी गर्ने व्यवस्था कार्यान्वयनमा केही समय लाग्ने भए पनि कार्यान्वयनमा जाने छ । कोषमा आबद्ध भएका योगदानकर्ताले स्वास्थ्य उपचार गराउनुुपरेमा वार्षिक एक लाख रुपियाँसम्मको भुक्तानी पाउन सक्ने व्यवस्था छ ।
गत बिहीबारसम्म कोषमा १६ हजार १६० रोजगारदाताका तीन लाख तीन हजार ९८ जना योगदानकर्ता (श्रमिक र कर्मचारी) आबद्ध भएका छन् । पछिल्लो समय मासिक पाँच हजार योगदानकर्ता र दैनिक तीन करोड रुपियाँभन्दा बढी योगदान रकम कोषमा जम्मा हुने गरेको छ । कोषमा हालसम्म ११ अर्ब ५७ करोड रुपियाँ योगदान रकम सङ्कलन भइसकेको छ भने ५७ करोड ४५ लाख रुपियाँ बराबरको रकम विभिन्न शीर्षकमा दाबी भुक्तानी गरेको छ ।
