मेडिकल कलेज निर्माण गर्ने लक्ष्य
दाङ। आवश्यक जग्गा अभावमा भवन निर्माण गर्न नसकेको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई साढे २० बिघा जग्गा प्राप्त हुने भएको छ। भवन निर्माण गरेर चिकित्सकीय अध्ययनमा सहजता ल्याउन नवलपुर बहुउदेश्यीय सरोकार समितिको पहलमा प्रतिष्ठानलाई साढे २० बिघा जग्गा प्राप्त भएको हो। सरोकार समितिले उक्त सरकारी जग्गालाई आफूले संरक्षण गर्दै आएको थियो। उक्त जग्गा घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुरको हो।
‘सरकारी जग्गाको संरक्षण सरोकार समितिबाट भैरहेको थियो,’ यो समितिका अध्यक्ष बलिभद्र रानाले भन्नुभयो ‘प्रतिष्ठानका लागि जग्गा आवश्यक परिरहेको अवस्थामा यो जग्गा प्रतिष्ठानलाई भोगलनका लागि दिने सम्झौता भएको हो।’ समितिका अध्यक्ष राना, प्रतिष्ठान बिच प्रतिष्ठानलाई भोगचलनका लागि उक्त जग्गा दिने सम्झौता भएको हो।
जग्गा प्रदान गर्न स्थानीय सरोकारवाला पक्ष सहमत भैसकेको र अब मन्त्री परिषदबाट यसलाई औपचारिक निर्णय प्रदानका लागि पहल गरिने रानाले जानकारी दिनुभयो। ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हामी दाङबासीका लागि उपचार थलो मात्रै हैन, यो चिकित्सकीय अध्ययनका लागि मेडिकल कलेज पनि हो,’ रानाले भन्नुभयो, ‘हामी दाङबासीको गौरबको यो संस्थालाई आवश्यक सहयोग हामी आआफैले गर्नुपर्छ।’ उक्त जग्गामा प्रतिष्ठानले मेडिकल कलेज निर्माण गर्ने लक्ष्य राखेको छ।