भारतको नयाँदिल्लीमा एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भएको पाइएको छ।
दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले यसको पुष्टी गरेका हुन्। हालसम्म एक व्यक्तिमा मात्र संक्रमण देखिएको उनले जानकारी दिएका हुन्।योसँगै भारतमा हालसम्म पाँच जनामा ओमिक्रोनको संक्रमण भएको पाइएको छ । बैंङ्लुरमा दुई, मुम्बईमा एक, जामनगरमा एक र नयाँदिल्लीमा एक जनामा संक्रमण भएको पाइएको हो ।
नयादिल्लीमा ओमिक्रोनको संक्रमण भएका व्यत्ति अफ्रिकी राष्ट्र तान्जानीयाबाट फर्केका हुन्। ३७ वर्षीय उनलाई एलएनजेपी अस्पतालमा भर्ना गरिएको छ । विदेशबाट आएका नागरिकहरूमा कोरोनाको नयाँ स्वरुप ओमिक्रोन हुन सक्ने जोखिमकाबीच भारत सरकारले अन्तर्राष्ट्रिय हवाई क्षेत्र, विभिन्न नाका र चेकपोष्टहरूमा कडाई गरेको छ।
यसैबीच, भारतको राजधानी दिल्लीमा ओमिक्रोनको आशङ्कामा १५ जना व्यक्तिलाई आइसोलेसनमा राखिएको छ । ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र बाँकी ६ जनामा खोकी लाग्ने समस्या देखिएको भारतीय अधिकारीहरूले बताएका छन् ।
कोरोना पुष्टि भएका ९ जनामा ओमिक्रोन हो वा होइन भन्ने विषयमा अझै पुष्टि हुन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।