• सोमबार, १५ भदौ २०८३
  • images

    अवैधरुपमा ल्याइएको ८० लाख मूल्यको औषधि पशुपतिनगर नाकाबाट बरामद

    अवैधरुपमा ल्याइएको ८० लाख मूल्यको औषधि पशुपतिनगर नाकाबाट बरामद

    मंगलबार, असोज १९ २०७८
    मंगलबार, असोज १९ २०७८
    अवैधरुपमा ल्याइएको ८० लाख मूल्यको औषधि पशुपतिनगर नाकाबाट बरामद


    इलाम। इलाम जिल्लाको पशुपतिनगर नाकाबाट लाखौँ मूल्य बराबरको औषधि बरामद गरिएको छ। जिल्लाको सूर्योदय नगरपालिका–३ पशुपतिनगरस्थित नेपाल–भारत सीमा लालीखर्क भन्ने स्थानबाट रु ८० लाख बराबरको औषधि बरामद गरिएको हो।

    नेपाल–भारत सीमावर्ती पशुपतिनगरको लालीखर्क भन्ने स्थानमा रहेको एउटा गोठमा भण्डार गरेर राखिएको औषधि सशस्त्र प्रहरी बल पशुपतिनगर (बिओपी)ले बरामद गरेको जनाइएको छ। अवैधरूपमा लाखौँ मूल्यको औषधि नेपाल आयात हुँदै गरेको सूचनाका आधारमा सशस्त्र प्रहरीको गस्ती टोलीले सोमबार राति १० बजे औषधि बरामद गरेको सशस्त्र प्रहरी बल पशुपतिनगरका प्रमुख नवीन खतिवडाले जानकारी दिए।

    चालिस वटा कार्टुन बरामद भएको सो औषधिको मूल्य ५० लाख भारु (नेपाली रुपैयाँ ८० लाख) बराबरको रहेको बताइएको छ। बरामद गरिएको औषधि आजै भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको औषधि नपाली बजारमा चलेको औषधि रहेको छ। अधिकांश औषधि बाथरोग, युरिक एसिड, ग्यास्ट्रिक र महिलाका लागि प्रयोग हुने किसिमको रहेको बताइएको छ।

    बरामद भएको औषधिमा नेपालमा प्रतिबन्धित औषधि भने नभएको बताइएको छ। ठूलो परिमाणमा औषधि बरामद गरिए पनि त्यो औषधि कसले, कहाँ लान लागेको भन्ने बारेमा खुल्न सकेको छैन। खुल्ला सिमानाको फाइदा उठाएर तस्करहरुले विगतमा लत्ताकपडा, खाद्य सामाग्री, मेसिनरी पार्टपूर्जा, मदिराजन्य पदार्थको तस्करी हुँदै आएको छ तर औषधिको तस्करी भने हालसम्म नभएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।

    यो घटनाले पूर्वी पहाडी जिल्लाबाट समेत औषधिको तस्करी उच्चरूपमा भइरहेको पुष्टि गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। रासस

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार