काठमाडौँ १५ असोज । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ७ बाट चिकित्सक संघका महासचिव डा. विश्वराज दवाडी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ।
खुला समूहबाट उम्मेदवारी दिनुभएका डा. दवाडीले १६५ मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो।
चिकित्सा पेसासँगै चिकित्सकको पेसागत हकहित तथा स्वास्थ्य क्षेत्रको सुधारका विषयमा सक्रिय रहँदै आउनुभएका डा. दवाडी हाल धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कन्सल्टेन्ट फिजिसियनका रूपमा कार्यरत हुनुहुन्छ। उहाँ नेपाल चिकित्सक संघका महासचिवसमेत हुनुहुन्छ।
स्वास्थ्य क्षेत्रका विभिन्न विषयमा निरन्तर सक्रिय रहनुभएका डा. दवाडीले चिकित्सक तथा स्वास्थ्यकर्मीका पेसागत अधिकार, स्वास्थ्य सेवाको गुणस्तर सुधार र स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा आवाज उठाउँदै आउनुभएको छ।
महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीको नीति निर्माणमा स्वास्थ्य क्षेत्रका विषयलाई प्राथमिकताका साथ उठाउने तथा स्वास्थ्य सेवा सुधारका लागि रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित उहाँ कांग्रेसको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा सहभागी हुनुभएको थियो।