काठमाडौँ, ६ असोज । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. कृष्णप्रसाद पौडेललाई दिइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णयमार्फत डा. पौडेललाई विभागको नेतृत्वको जिम्मेवारी दिनुभएको हो।
मन्त्रीस्तरीय निर्णय गत शुक्रबार भएको थियो। डा. पौडेलले सोमबारदेखि निमित्त महानिर्देशकका रूपमा जिम्मेवारी पाउनुभएको हो। उहाँले मंगलबारबाट औपचारिक रूपमा नयाँ जिम्मेवारी सम्हाल्नुहुनेछ।
डा. पौडेल यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत हुनुहुन्थ्यो। विभागको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएसँगै उहाँ स्वास्थ्य सेवा विभागको प्रशासनिक नेतृत्वमा आउनुभएको हो।
यसअघि डा. अनुज भट्टचनले विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। उहाँ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकसमेत हुनुहुन्थ्यो।
डा. पौडेललाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिइएपछि डा. भट्टचनले अब इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकका रूपमा मात्र काम गर्नुहुनेछ।
स्वास्थ्य सेवा विभागको महानिर्देशक पद १२औँ तहको हो। विभागको नियमित महानिर्देशक नियुक्त नभएको अवस्थामा निमित्त महानिर्देशकले विभागको समग्र प्रशासनिक नेतृत्व सम्हाल्ने व्यवस्था छ।
स्वास्थ्य मन्त्रालयमा १२औँ तहका चिकित्सक तथा स्वास्थ्य प्रशासकको सङ्ख्या पनि सीमित रहेको छ। अतिरिक्त सचिव डा. सङ्गीता कौशल मिश्राको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएपछि मन्त्रालयमा १२औँ तहमा डा. श्रीकृष्ण श्रेष्ठ मात्र कार्यरत रहनुभएको छ।