विज्ञापन गरेको भोलिपल्टै भक्तपुर अस्पतालले कर्मचारी भर्ना स्थगित गरेको हो ।
भक्तपुर, ३० भदौ । भक्तपुर अस्पतालले करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी भर्नाका लागि प्रकाशित गरेको विज्ञापनमध्ये दुई पदको पदपूर्ति प्रक्रिया स्थगित गरेको छ।
अस्पतालले मंगलबार अर्को एक सूचना जारी गर्दै यसअघि प्रकाशित विज्ञापन तत्कालका लागि स्थगित गरिएको जनाएको हो। अस्पतालले केही चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवामा भर्ना गर्ने उद्देश्यले अघिल्लो दिन मात्रै विज्ञापन प्रकाशित गरेको थियो।
अस्पतालको पछिल्लो सूचनाअनुसार करार सेवाका पाँचौ तहका नर्स १० जना, नवौँ तहका कन्सल्टेन्ट ईएनटी सर्जन एक जना र पाँचौँ तहका स्टाफ नर्स १० जनाको पदपूर्ति प्रक्रिया स्थगित गरिएको छ।
यसअघि अस्पतालले २०८३ भदौ २९ गते प्रकाशित सूचनामार्फत करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो। उक्त सूचनामा नवौँ तहका कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट एक जना, नवौँ तहका कन्सल्टेन्ट कार्डियोलोजिस्ट एक जना र आठौँ तहका मेडिकल अधिकृत ६ जना माग गरिएको थियो।
अस्पतालले चिकित्सक तथा स्वास्थ्यकर्मीको करार व्यवस्थापनसम्बन्धी कार्यविधिअनुसार अन्तर्वार्ताका आधारमा छनोट गर्ने जनाएको थियो। आवेदनका लागि न्यूनतम शैक्षिक योग्यता, सम्बन्धित परिषद्मा दर्ता, नेपाली नागरिकताको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र तथा अनुभव र तालिमसम्बन्धी कागजात पेश गर्नुपर्ने उल्लेख थियो।
तर त्यसको एक दिनपछि नै अस्पतालले छुट्टै सूचना जारी गर्दै ईएनटी सर्जन र स्टाफ नर्सको पदपूर्ति स्थगित गरेको हो। सूचनामा स्थगनको कारण भने खुलाइएको छैन।