काठमाडौं, ६ भदौ । धुलिखेल अस्पतालको स्थापना तथा सञ्चालनमार्फत नेपालको स्वास्थ्य सेवाको गुणस्तर र संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउनुभएका डा. रामकण्ठ माकजू श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान–२०८१’ प्रदान गरिने भएको छ।
साल्ट ट्रेडिङ कर्पोरेशनको आर्थिक सहयोगमा नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गर्दै आएको उक्त सम्मान यस वर्ष स्वास्थ्य क्षेत्रबाट डा. माकजू श्रेष्ठलाई प्रदान गर्न लागेको हो।
संघका अध्यक्ष मधुरमण आचार्यले धुलिखेल अस्पतालको स्थापना, सञ्चालन तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा डा. माकजू श्रेष्ठले पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानका लागि छनोट गरिएको जानकारी दिनुभयो।
डा. माकजू श्रेष्ठको नेतृत्वमा धुलिखेल अस्पतालले स्वास्थ्य सेवा प्रवाहसँगै संस्थागत विकास, गुणस्तरीय उपचार, दक्ष जनशक्ति विकास र नागरिकमुखी स्वास्थ्य सेवाको क्षेत्रमा स्थापित गरेको उदाहरणलाई संघले सम्मानको प्रमुख आधार बनाएको जनाएको छ।
स्वास्थ्य सेवाको पहुँच र गुणस्तर विस्तारमा डा। माकजूको योगदान व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई एउटा सबल स्वास्थ्य संस्था निर्माण र त्यसलाई दीर्घकालीन रूपमा अघि बढाउने संस्थागत नेतृत्वका रूपमा रहेको संघको ठहर छ। सीमित स्रोतसाधनका बीच गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाका रूपमा धुलिखेल अस्पतालको विकासमा उहाँले निर्वाह गर्नुभएको नेतृत्वलाई नेपालको स्वास्थ्य क्षेत्रमा अनुकरणीय योगदानका रूपमा लिइएको छ।
संघका अध्यक्ष आचार्यले सार्वजनिक सेवामा गुणस्तर, उत्तरदायित्व र संस्थागत नेतृत्वको महत्वलाई स्थापित गर्न योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्ने परम्पराअन्तर्गत डा. माकजू श्रेष्ठलाई छनोट गरिएको बताउनुभयो।
यसैगरी, नेपाल जन–प्रशासन संघले ‘‘हेमबहादुर मल्ल सम्मान–२०८२’ सार्वजनिक प्रशासन तथा सार्वजनिक सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका रामेश्वरप्रसाद खनाललाई प्रदान गर्ने निर्णय गरेको छ। सार्वजनिक जिम्मेवारीमा रहँदा नीति निर्माण, प्रशासन सञ्चालन तथा सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिमा उहाँले निर्वाह गर्नुभएको भूमिकालाई सम्मानको आधार बनाइएको संघले जनाएको छ।
दुवै सम्मानका लागि उत्कृष्ट व्यक्तित्व छनोट गरी सिफारिस गर्न नेपाल सरकारका पूर्वसचिव तथा नेपाल जन–प्रशासन संघका पूर्वअध्यक्ष कृष्ण ज्ञवालीको संयोजकत्वमा सम्मान छनोट समिति गठन गरिएको थियो। समितिको सिफारिसका आधारमा संघले डा. माकजू श्रेष्ठ र खनाललाई सम्मान गर्ने निर्णय गरेको हो।
सम्मान छनोटका क्रममा सम्बन्धित व्यक्तित्वले सार्वजनिक सेवा र जनसरोकारका क्षेत्रमा पुर्याएको योगदान, सार्वजनिक जीवनमा पारेको प्रभाव, संस्थागत नेतृत्व तथा विकासमा निर्वाह गरेको भूमिका र सार्वजनिक सेवाप्रतिको प्रतिबद्धतालाई मुख्य आधार बनाइएको संघले जनाएको छ।
‘हेमबहादुर मल्ल सम्मान’ नेपाल जन–प्रशासन संघले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आर्थिक सहयोग तथा साझेदारीमा प्रदान गर्दै आएको छ। ख्यातिप्राप्त प्रशासक एवं कुशल व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनको नेतृत्वमा रहेर सार्वजनिक वितरण, सेवा तथा व्यवस्थापनका क्षेत्रमा पुर्याउनुभएको योगदानको स्मरण तथा सम्मानस्वरूप यो सम्मान स्थापना गरिएको हो।
सम्मान कार्यक्रम तथा पत्रकार भेटघाटमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको समेत सहभागिता रहेको थियो। सार्वजनिक सेवा, व्यवस्थापन र संस्थागत विकासमा दीर्घकालीन योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले संघ र साल्ट ट्रेडिङबीचको सहकार्यलाई निरन्तरता दिइएको जनाइएको छ।
सम्मानपत्रसहित नगद दुई लाख रुपैयाँ प्रदान गरिने उक्त सम्मान आगामी भदौ ८ गते सोमबार विशेष समारोहका बीच प्रदान गरिनेछ। समारोहमा सम्मानित व्यक्तित्वहरूको योगदान, अनुभव तथा सार्वजनिक सेवाप्रतिको दृष्टिकोणलाई प्रस्तुत गरिने संघले जनाएको छ।
नेपाल जन–प्रशासन संघले वि।सं। २०६० देखि सार्वजनिक प्रशासन, व्यवस्थापन, सार्वजनिक वितरण, सार्वजनिक सेवा तथा जनसरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गर्दै आएको छ। हालसम्म सार्वजनिक प्रशासन, व्यवस्थापन, स्वास्थ्य, शिक्षा, न्याय, कूटनीति, सामाजिक सेवा तथा अन्य सार्वजनिक सरोकारका क्षेत्रमा योगदान पुर्याएका २१ जना विशिष्ट व्यक्तित्व यस सम्मानबाट सम्मानित भइसकेका छन्।
संघले हेमबहादुर मल्ल सम्मानलाई व्यक्तिको योगदानको कदर गर्ने कार्यक्रमका रूपमा मात्र नभई सार्वजनिक सेवामा निष्ठा, व्यावसायिकता, उत्तरदायित्व, संस्थागत नेतृत्व र राष्ट्रहितप्रतिको प्रतिबद्धतालाई प्रोत्साहन गर्ने महत्वपूर्ण संस्थागत अभ्यासका रूपमा लिएको जनाएको छ।
नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक तथा व्यवस्थापकबीचको पेशागत सम्बन्धलाई सुदृढ गर्दै सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन तथा मूल्याङ्कनमा व्यावसायिक पृष्ठपोषण प्रदान गर्दै आएको छ। छलफल, गोष्ठी, प्रशिक्षण, अनुसन्धान, प्रकाशन तथा राष्ट्रिय सम्मानका कार्यक्रममार्फत संघले सार्वजनिक प्रशासनको व्यावसायिक विकास र सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउँदै आएको जनाएको छ।