काठमाडौँ, ८ साउन । नेपाल मेडिकल काउन्सिलले स्नातकोत्तर (पोस्ट ग्राजुएट–पीजी) तह उत्तीर्ण गरेका चिकित्सकका लागि सञ्चालन गरेको विशेष (स्पेशल) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस वर्षको परीक्षामा सहभागीमध्ये ९३.५७ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्।
काउन्सिलका अनुसार परीक्षाका लागि एक हजार १३ जनाले आवेदन दिएका थिए। तीमध्ये एक जना परीक्षामा अनुपस्थित भएपछि एक हजार १२ जना परीक्षामा सहभागी भएका थिए। सहभागीमध्ये ९४७ जना उत्तीर्ण भएका हुन्। यसपटक ३६ वटा विभिन्न विशेषज्ञता विषयका परीक्षार्थीले परीक्षा दिएका थिए।
नेपाल मेडिकल काउन्सिलका सदस्य तथा परीक्षा समिति संयोजक डा. नीना राईका अनुसार यस वर्षको उत्तीर्ण दर गत वर्षको सोही अवधिमा सञ्चालन गरिएको विशेष परीक्षाको तुलनामा करिब दुई प्रतिशतले बढी हो। गत वर्षको परीक्षामा ९१ प्रतिशतभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका थिए।
डा. राईले यस वर्षको नतिजा सुधार हुनुमा नेपालमै अध्ययन पूरा गरेका नयाँ स्नातकोत्तर चिकित्सकहरूको उल्लेखनीय सहभागिता प्रमुख कारण रहेको बताउनुभयो।
उहाँका अनुसार यस सिजनमा सञ्चालन हुने विशेष परीक्षामा सामान्यतः उत्तीर्ण दर उच्च रहने गरेको छ। यस वर्ष परीक्षामा सहभागीमध्ये करिब ९० प्रतिशत चिकित्सक त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयबाट हालै स्नातकोत्तर तह उत्तीर्ण भएका चिकित्सक रहेको उहाँको भनाइ छ।
विशेष परीक्षा कम्प्युटरमा आधारित (कम्प्युटर बेस्ड) प्रणालीमार्फत ललितपुरस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस) मा सञ्चालन गरिएको थियो।