स्वास्थ्य परीक्षण प्रक्रियामा अनियमितता गरेको आरोप
नेपालगन्ज, ४ असार । सवारी चालक अनुमतिपत्र प्राप्त गर्न तथा नवीकरणका लागि आवश्यक स्वास्थ्य परीक्षणसम्बन्धी प्रक्रियामा अनियमितता भएको आशङ्कामा प्रहरीले नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार सवारी चालक अनुमतिपत्रका लागि अनिवार्य रूपमा चिकित्सकीय परीक्षण गरी आधिकारिक प्रतिवेदन उपलब्ध गराउनुपर्ने व्यवस्था रहे पनि परीक्षण प्रक्रिया पूरा नगरी शुल्क लिएर निरोगिताको प्रमाणपत्र वितरण गरिएको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको हो।
प्रहरीले प्राप्त सूचनापछि विशेष निगरानी तथा अनुगमन सञ्चालन गरेको थियो। सो क्रममा नियमविपरीत ढङ्गले प्रमाणपत्र वितरण भइरहेको प्रारम्भिक तथ्य फेला परेपछि सम्बन्धित व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
अनुसन्धान प्रभावित हुन सक्ने भएकाले पक्राउ परेका चिकित्सक तथा अन्य व्यक्तिहरूको परिचय हाल सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनेछ।