• मंगलबार, ३ कात्तिक २०८३
  • images

    जिवनरक्षक औषधि अभाव हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन

    जिवनरक्षक औषधि अभाव हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन

    औषधि आपूर्ति नगर्ने आयातकर्तामाथि कारबाहीको तयारी

    बिहीबार , जेठ २१ २०८३
    बिहीबार , जेठ २१ २०८३
    जिवनरक्षक औषधि अभाव हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन

    काठमाडौं, २१ जेठ । क्यान्सर उपचारलगायत जीवनरक्षक औषधिको आपूर्ति तथा उपलब्धतासम्बन्धी देखिएका समस्याको समाधान खोज्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले औषधि व्यवस्थापन प्रणालीको समीक्षा सुरु गरेको छ।

    यसै क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीलगायत विभागीय अधिकारीहरूसँग मन्त्रालयमा छलफल गर्नुभएको छ। छलफलमा मन्त्रालयका सल्लाहकार डा. मनोहर प्रधान तथा कानुन उपसचिव गोपीकृष्ण रेग्मीको पनि सहभागिता रहेको थियो।

    images

    मन्त्रालयका अनुसार बैठकमा विशेषगरी क्यान्सर उपचारमा प्रयोग हुने तथा अन्य जीवनरक्षक औषधिको आपूर्तिमा देखिएका समस्या, बिरामी तथा सरोकारवालाबाट प्राप्त गुनासाहरूको वास्तविक अवस्था तथा ती समस्याको समाधानका सम्भावित उपायबारे विस्तृत समीक्षा गरिएको थियो।

    छलफलका क्रममा औषधि आयात तथा आपूर्तिको अनुमति प्राप्त गरेपछि पनि बजारमा पर्याप्त आपूर्ति नगर्ने आयातकर्ता तथा आपूर्तिकर्ताप्रति सरकार गम्भीर र कडा बन्नुपर्ने विसयमा पनि छलफल केन्द्रित भएको थियो ।

     बैठकमा सहभागी एक सदस्यका अनुसार यस्ता व्यवसायीमाथि आवश्यक कानुनी कारबाही गर्ने तथा वैकल्पिक आपूर्ति व्यवस्था सुनिश्चित गर्ने विषयमा स्पष्ट कार्ययोजना तयार गर्नुपर्ने बताइएको थियो। 

    बैठकले जीवनरक्षक औषधि आयात गर्ने अनुमति प्राप्त कम्पनीहरूको अद्यावधिक विवरण व्यवस्थित गर्न पनि निर्देशन दिएको छ। यसअन्तर्गत पछिल्ला तीन वर्षको आयात अवस्था, वार्षिक खपतको तथ्याङ्क, बजार माग तथा नयाँ आपूर्तिकर्ताबाट प्राप्त आवेदनहरूको समग्र विवरण संकलन गरी एकीकृत अभिलेख तयार गर्न औषधि व्यवस्था विभागलाई भनिएको छ।

    त्यसैगरी, औषधि व्यवस्थापनलाई थप प्रभावकारी र पारदर्शी बनाउन डिजिटल प्रणालीको स्तरोन्नति, सफ्टवेयरको क्षमता विस्तार तथा विभागीय वेबसाइटलाई नियमित रूपमा अद्यावधिक गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ। यसबाट औषधिको उपलब्धता, आयात अवस्था तथा आपूर्ति व्यवस्थाबारे सरोकारवालाले सहज रूपमा जानकारी प्राप्त गर्न सक्ने छ।

    मन्त्रालयले औषधि आपूर्ति शृङ्खलालाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने लक्ष्यसहित आगामी दिनमा अनुगमन तथा नियमनलाई थप प्रभावकारी बनाउने भएको छ। मन्त्री मेहताले अत्यावश्यक तथा जीवनरक्षक औषधिको अभाव हुन नदिई बिरामीले सहज रूपमा उपचार सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार