बिर्तामोड, २० जेठ । झापाको मेचीनगर नगरपालिका–९ सतीघट्टा क्षेत्रमा स्कुल बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
बुधवार साँझ करिब ५ः२० बजे इटाभट्टा–भद्रपुर सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ प ३९१ नम्बरको होलीबेल अंग्रेजी विद्यालयको स्कुल बस र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार मेचीनगर नगरपालिका–७ निवासी २५ वर्षीय अजय राजवंशी र भारतको किशनगञ्ज, गलगलिया निवासी ३३ वर्षीय अजय माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि दुवै जनाको शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।