काठमाडौँ, १ माघ । आज विभिन्न कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय योग दिवस मनाइदैछ ।
आज ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरी एघारौँ राष्ट्रिय योग दिवस मनाउन लागिएको हो ।
सरकारले प्रत्येक वर्षको माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार यस वर्ष पनि सङ्घीय, प्रदेश र स्थानीय स्तरमा विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेर योगा दिवस मनाइदैछ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादवले स्वस्थ्यकर खानपान, धुम्रपान र मद्यपानको त्याग र नियमित शारीरिक व्यायम गरे नसर्ने रोग लाग्नबाट बचाउने बताउनुुभयो । गुणस्तरीय स्वास्थ्य जीवन जिउनका लागि तथा विश्वव्यापी रुपमा फैलिँदै गएको नसर्ने रोगको प्रकोपलाई न्यूनीकरण गर्न योगको महत्वलाई नागरिकसम्म पु¥याउनुपर्ने बताउनुभयो । उहाँले योग केवल व्यायाम मात्र नभई जीवन जिउने कला र पद्धति हो भन्दै उहाँले नेपाली भूमि योगको उद्गमस्थल रहेको तथ्यलाई शिरोधार्य गर्दै, योगलाई प्रत्येक नागरिकको दैनिक जीवनको हिस्सा बनाउनु र यसका माध्यमबाट स्वस्थ्य समाज र समृद्ध नेपाल निर्माणमा टेवा पु¥याउनु यस दिवसको मुख्य लक्ष्य रहेको बताउनुभयो ।
उहाँले योगले दीर्घरोगको रोकथाममा महत्वपूर्ण फाइदा हुने जानकारी दिँदै स्वस्थ जीवनयापनका लागि योग अपरिहार्य रहेको बताकउनुभयो ।
उहाँले शारीरिक रुपमा अशक्त, गर्भवती, उच्च रक्तचाप, मधुमेह, जोर्नी दुखाई जस्ता दीर्घरोग भएकाले योग गर्दा विशेष ध्यान अपनाउनुपर्ने बताउनुभयो । उहाँले नसर्ने रोगको उपचारमा राज्यले अरबौं लगानी गरेको भन्दै रोग लाग्नै नदिनतर्फ योग गर्नुपर्ने बताउनुभयो ।
स्वस्थ जीवनशैली अपनाई आयुर्वेद, योग तथा जडिबुटीको माध्यमबाट शारीरिक तथा मानसिक रुपमा स्वस्थ शरीर, सकारात्मक सोच र व्यक्तित्व विकास गर्न सकिने उहाँको धारणा छ । डा. यादवले योग दिवसलाई देशभर मनाउन लागिएको बताउनुुभयो । उहाँले योगद्वारा रोगप्रतिरोधात्मक क्षमता बढ्ने हुँदा सबैले योगलाई अवलम्बन गर्न सक्नुपर्ने बताउनुुभयो । उहाँले योग दिवसको अवसरमा प्रभातफेरीको आयोजना, स्वास्थ्य, शिक्षा मन्त्रालय, विभिन्न योग संस्थाहरू र नागरिक समाजको सहभागितामा विशेष प्रभातफेरी र औपचारिक कार्यक्रमको आयोजना गरिने जानकारी दिनुभयो । यसैगरी अन्तरक्रिया तथा प्रवचन, योगको वैज्ञानिक महत्व, शारीरिक एवं मानसिक स्वास्थ्यमा यसको प्रभाव र नसर्ने रोगहरूको रोकथाममा योगको भूमिकाबारे विज्ञहरूसँग छलफल गरिने जानकारी दिनुभयो ।
आयुर्वेद चिकित्सक डा. मुनकर्ण थापाले सरकारले विद्यालय स्तरमा सचेतनाका कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरूलाई अनुशासित र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले विद्यालयहरूमा विशेष योग सत्रहरू सञ्चालन गरिने बताउनुभयो । डा. पुण्यस्वर केशरीले योगले प्रदान गर्ने मानसिक शान्ति र सकारात्मक ऊर्जाले ‘विश्व शान्ति’ का लागि समेत मार्गप्रशस्त गर्ने बताउनुभयो । उहाँले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग मार्फत हाल देशभरका सबै आयुर्वेद स्वास्थ्य संस्थाहरूबाट नियमित रूपमा प्रवद्र्धनात्मक योग सेवा प्रदान गरिँदै आएको बताउनुभयो ।