दाङ , १ पुस । उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया रोक्न अल्पकालीन आदेश जारी गरेको छ ।
उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले उपकुलपति नियुक्ति प्रक्रिया रोक्न आदेश दिएको हो।
उच्च अदालत तुलसीपुरका सूचना अधिकारी कृष्णप्रसाद शर्माले उपकुलपति नियुक्ति प्रक्रिया रोक्न आदेश दिएको जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानको उपकुलपति नियुक्ति गर्न मंसिर २५ गते सूचना जारी गरेको थियो ।
सो सूचना विरुद्ध डा जनार्दन पन्थीले सोमबार रिट दायर गर्नुभएको थियो ।
हालको प्रावधानले नेपाल सरकारले स्थापना गरेको प्रतिष्ठानमा नेपाल सरकारका कर्मचारीहरु पदाधिकारीमा नियुक्त हुन नमिल्ने भएपछि पन्थीले रिट हालेको प्रष्ट गर्नुभयो ।
प्रतिष्ठानमै रहेका प्राध्यापकले नियुक्तका लागि अवसर नपाउने भएपछि रिट दायर गरेको उहाँको भनाई छ ।
प्रतिष्ठानका निमित्त निर्देशक जनार्दन पन्थीले दायर गरेको रिटमा पुस ८ गते छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश दिएको छ ।
८ गतेसम्म नियुक्तिको प्रकृयाअघि नबढाउन र अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिनेबारे आगामी सुनुवाइमा छलफलपछि मात्रै थप प्रक्रिया अगाडी बढ्नेछ ।