नेपालगन्ज, २३ साउन । कर्णाली डेभलपमेन्ट बैँक लिमिटेडमा भएको घोटालामा वरिष्ठ चिकित्सकदेखि बहालवाला वडाध्यक्ष सम्म फरार रहेका छन् ।
उक्त घोटालामा बैँकका उच्च कर्मचारी, सञ्चालक, चिकित्सक, नेता लगायत अडिटर समेत गरेर १०३ जना फरार भएका हुन् ।
बैंक घोटालामा वरिष्ठ चिकित्सक डा. उषा राणा शाह पनि फरार सूचीमा हुनुहुन्छ । उहाँ बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ हुनुहुन्छ ।
डुडुवा गाउँपालिका–६ का बहालवाला वडाध्यक्ष मोहनराम मिश्र, राजनीतिक दलका नेता ओमप्रकाश आजाद र ओमप्रताप राणा फरार सूचीमा हुनुहुन्छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय बाँकेले उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा १०९ जनालाई प्रतिवादी बनाएर साउन १४ गते मुद्दा दायर गरेको हो ।
ती मध्ये चार जना पक्राउ परेको, दुई जनाको मृत्यु भइसकेको र १०३ जना फरार रहेको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलाशले जनाएको छ।
उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलाशका सूचना अधिकारी बलबहादुर विष्टका अनुसार सो मुद्दामा पक्राउ परेका बैँकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायसहित पूर्व अध्यक्ष पशुपतिदयाल मिश्रा र वित्तशाखा प्रमुख बेदप्रकाशसिंह ठकुरीलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
यस्तै नेपाल राष्ट्र बैँकका पूर्व कर्मचारी भुवन बस्नेतलाई दुई लाख रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलाशका न्यायाधीशहरू चन्द्रबहादुर सारु र पुनमसिंह चन्दको संयुक्त इजलाशले सो आदेश दिएको हो।
अदालतका सूचना अधिकारी विष्टले सो आदेशमा फरार रहेका १०३ जना प्रतिवादीको हकमा कानुन बमोजिम म्याद जारी गरी नियमानुसार गर्नु भनि आदेश भएकोले फरारलाई पक्राउ गर्न प्रहरीलाई ३५ दिने म्यादसहितको पक्राउ पुर्जी पठाउने जानकारी दिनुभयो ।
उहाँले १०५ जनाको फरार सूचीमा राप्ती पोलिमर्स प्रालिका सञ्चालक महेशजङ्ग थापाको २०७८ साल वैशाख ३१ गते तथा कर्णाली डेभलपमेन्ट बैँकका तत्कालीन कर्मचारी धनन्जय कश्यपको २०८२ साल वैशाख ५ गते मृत्यु भएको थियो। बाँकी रहेका १०३ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिने छ।
कर्णाली डेभलपमेन्ट बैँकको घोटालामा फरार सूचीमा रहेका १०३ जना मध्ये बैँकका उच्च कर्मचारी, सञ्चालक, राजनीतिक दलका नेता, चिकित्सक र लेखा परीक्षकसमेत रहेका छन्।
फरार सूचीमा रहेकामध्ये बैँकका अध्यक्ष डा. ओमप्रकाश मिश्र, पूर्व प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावत, निरजविक्रम शाह र विष्णुप्रसाद कक्षपति, बैँकका पूर्व नेपालगन्ज शाखा प्रमुख दीपा थापा हुनुहुन्छ।