काठमाडौं, ३० असार । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बहुविशिष्टीकृत बाल अस्पताल निर्माणका लागि रु १ करोड रुपैयाँ सहयोग गरेको छ।
किओच बाल स्वास्थ्य क्षेत्रमा काम गरिरहेको गैरनाफामूलक संस्था हो ।
कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत उक्त आर्थिक सहयोग प्रदान गरिएको हो।
किओचको कार्यालयमा आयोजित कार्यक्रममा दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
किओचको तर्फबाट संस्थापक अध्यक्ष मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले हस्ताक्षर गर्नुभएको हो।
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ मा ‘हब’ अस्पतालका रूपमा बहुविशिष्टीकृत बाल अस्पताल (किओच) काठमाडौँको निर्माण अन्तिम चरणमा पुगेको छ। अस्पतालको मूल भवन निर्माण भइरहँदा बिरामी बालबालिकालाई सेवा दिन तथा बाल स्वास्थ्य र नसर्ने रोगसम्बन्धी अनुसन्धान अघि बढाउन क्लिनिकल रिसर्च बिल्डिङ निर्माण भई सेवा सञ्चालन भइसकेको छ।
समारोहमा नेपाल लाइफका संचालक कमलेश कुमार अग्रवालले डा. कोइरालाको नेतृत्वमा अघि बढेको यस परियोजनाले नेपालका बालबालिकाको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । उहाँले यस किसिमका परियोजनाले राज्य नीतिलाई समेत सघाउ पुर्याउने र भविष्यमा निजी क्षेत्रको सहकार्यबाट देशभर नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सकिने विश्वास व्यक्त गर्नुभयो।
कम्पनीका सीईओ प्रवीण रमण पराजुलीले नेपाल लाइफले सामाजिक, आर्थिक, शैक्षिक र संस्कृतिक क्षेत्रमा रुपान्तरण ल्याउन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै काम गर्दै आएको जानकारी दिनुभयो । उहाँले बाल स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने किओच परियोजनामा जोडिन पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा राजधानी लगायत सातै प्रदेशमा सुविधासम्पन्न बाल अस्पताल स्थापनामा सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको बताउनुभयो।
किओचका संस्थापक अध्यक्ष डा. भगवान कोइरालाले नेपाल लाइफको सहयोगप्रति आभार व्यक्त गर्दै यसले परियोजनालाई थप गति दिने बताउनुभयो। उहाँले नेपाल लाइफजस्तो प्रतिष्ठित संस्थासँग सहकार्य गर्न पाउँदा संस्थालाई थप हौसला मिलेको र आगामी दिनमा समेत यस्तो सहकार्य जारी रहनेमा विश्वास व्यक्त गर्नुभयो ।
किओचले देशभरका प्रादेशिक बाल अस्पतालका लागि श्रोत केन्द्रको रूपमा केन्द्रीय बहुविशिष्टीकृत बाल अस्पताल सञ्चालन गर्ने लक्ष्य लिएको छ। हाल परियोजना अन्तर्गत पहिलो किओच–दमक बाल अस्पताल स्थापना भई सेवा सञ्चालनमा रहेको छ। यस अस्पतालबाट आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग, शल्यक्रिया, प्रयोगशाला, रेडियोलोजी, पीआईसीयू, एनआईसीयू, एचडीयु लगायतका सेवा प्रदान भइरहेका छन्।