• बिहीबार , ५ कात्तिक २०८३
  • images

    औषधि उद्योगमा विस्फोट हुँदा ३४ जनाको मृत्यु, ३५ जना घाइते 

    औषधि उद्योगमा विस्फोट हुँदा ३४ जनाको मृत्यु, ३५ जना घाइते 

    मंगलबार, असार १७ २०८२
    मंगलबार, असार १७ २०८२
    औषधि उद्योगमा विस्फोट हुँदा ३४ जनाको मृत्यु, ३५ जना घाइते 

    नयाँदिल्ली , १७ असार । सोमबार तेलंगाना राज्यको संगारेड्डी जिल्लास्थित पासामईलरम औद्योगिक क्षेत्रको सिगाची केमिकल्स फ्याक्ट्रीमा भएको रिएक्टर विस्फोटपछि ठूलो आगलागी हुँदा कम्तीमा ३४ जनाको ज्यान गएको छ।

    जिल्ला प्रशासनका अनुसार घटनामा हालसम्म ३५ जना घाइते भएका छन् र तिनीहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। प्रशासनले २४ जना अझै हराइरहेका जनाउँदै खोजी कार्य जारी रहेको जानकारी दिएको छ। घटनास्थलबाट ५७ जनालाई सुरक्षित उद्धार गरिएको छ।

    images

    ज्यान गुमाउनेमध्ये चार जनाको पहिचान भइसकेको छ। बाँकीको पहिचानका लागि प्रयास भइरहेको जनाइएको छ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, 'तेलंगानाको संगारेड्डीमा फ्याक्ट्रीमा आगलागी हुँदा मानिसहरूको मृत्यु भएको खबरले म अत्यन्त दुःखी छु। पीडित परिवारप्रति समवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।'


    प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ र घाइतेहरूलाई ५०–५० हजार रुपैयाँको आर्थिक सहायता उपलब्ध गराइने जानकारी दिनुभयो ।

    यससँगै बिहार सरकारले समेत मृतकहरू बिहारका बासिन्दा भएमा तिनका आश्रितलाई दुई–दुई लाख रुपैयाँ र घाइतेहरूलाई ५०–५० हजार रुपैयाँ सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

    घटनास्थलमा दमकल विभागका ११ वटा गाडी परिचालन गरेर उद्धार कार्य जारी छ। प्रारम्भिक अनुमान अनुसार मृतकको संख्या अझै बढ्न सक्छ । धेरै मानिसहरू अझै विस्फोट भएको भवनमा फसेको आशंका गरिएको छ।

    यो घटना सोमबार बिहान ७ बजे पाशमिलारमस्थित सिगाची इन्डस्ट्रीज नामक कम्पनीको फ्याक्ट्रीमा भएको हो। प्रारम्भिक जानकारी अनुसार रिएक्टरमा अचानक रासायनिक प्रतिक्रिया अत्यधिक गतिमा भएपछि विस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ।


    प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोटको आवाज निकै ठूलो थियो । त्यसले मजदुरहरूलाई करिब १०० मिटर टाढा फालिदिएको थियो। विस्फोटले रिएक्टर युनिट पूरै ध्वस्त भएको छ।

    यहाँ कम्पनीले सन् १९८९ देखि माइक्रोक्रिस्टलाइन सेल्युलोज (एमसीसी) उत्पादन गर्दै आएको छ । यो सेतो रङको, गन्धरहित, स्वादविहीन पाउडर हो, जसको प्रयोग औषधि तथा सौन्दर्य प्रशाधन उद्योगमा हुन्छ।

    सिगाची उद्योगका भारतभर पाँचवटा कारखाना छन्, विस्फोट भएको कारखानामा सयभन्दा बढी कर्मचारी कार्यरत थिए । कम्पनीका उत्पादनहरू ६५ भन्दा बढी देशमा निर्यात गरिन्छन्।

    यस दुर्घटनापछि बम्बे स्टक एक्सचेञ्जमा सिगाची इन्डस्ट्रिजको सेयर ९.८९ प्रतिशतले घटेको छ। उक्त समयसम्म यसको सेयर ४९.७२ भारूमा कारोबार भइरहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार