• मंगलबार, ३ कात्तिक २०८३
  • images

    सामाजिक सुरक्षा कोषमार्फत ८५ हजार बढीको  उपचार

    सामाजिक सुरक्षा कोषमार्फत ८५ हजार बढीको  उपचार

    आइतबार, मंसिर २३ २०८१
    आइतबार, मंसिर २३ २०८१
    सामाजिक सुरक्षा कोषमार्फत ८५ हजार बढीको  उपचार

    काठमाडौँ, २३ मंसिर । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गरेका करिब ८५ हजार योगदानकर्ताले स्वास्थ्य उपचार सेवा लिएका छन् । कोषको योजनामा आबद्ध ९० वटा अस्पतालबाट उनीहरुले स्वास्थ्य उपचार सेवा लिएका हुन् ।

    कोषले औपचारिक, अनौपचारिक र स्वरोजगारतर्फका पाँच लाख ४६ हजार ७६४ योगदानकर्तामध्ये ८४ हजार ९०२ जना योगदानकर्ताले ती अस्पतालबाट स्वास्थ्य सेवा लिएको जनाएको छ ।

    images


    कोषका अनुसार स्वास्थ्य सेवा लिएबापत एक अर्ब ९२ करोड ६१ लाख रुपियाँ दाबी गरेकोमा एक अर्ब ५० करोड ३८ लाख रुपियाँ भुक्तानी भएको छ ।

    कोषले तोकेका अस्पतालमा उपचार गराउँदा मात्रै योगदानकर्ताको उपचारबापतको खर्च बेहोर्ने व्यवस्था छ । कोषले गत फागुन १ गतेदेखि कोषसँग सम्झौता गरेका अस्पतालमा मात्रै योगदानकर्ताले औषधोपचारबापतको रकम दाबी गर्न पाउने व्यवस्था लागु गरेको हो । यसअघि भने सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले जुनसुकै अस्पतालमा उपचार गराउँदाको खर्च कोषले उपलब्ध गराउँदै आएको थियो ।

    कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषसँग सम्झौता गरेका अस्पतालबाट मात्रै योगदानकर्ताले स्वास्थ्य उपचारबापतको रकम दाबी गर्ने गरेको जानकारी दिए । उनका अनुसार तोकेका अस्पतालमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ३६ वटा छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा दुई वटा छन् । कर्णाली प्रदेशमा भने अहिलेसम्म अस्पताल तोकिएको छैन ।

    योगदानकर्ताले सामाजिक सुरक्षा परिचयपत्र देखाएर अस्पतालमा उपचार गराउँदाको खर्च सामाजिक सुरक्षा कोषले सिधै अस्पताललाई तिरिदिने प्रावधान छ । कोषमा कम्तीमा तीन महिना नियमित योगदान गरेपछि औषधोपचार सुविधा पाइन्छ । यसअन्तर्गत वार्षिक एक लाख रुपियाँसम्मको औषधोपचार सुविधा व्यवस्था छ ।

    कम्तीमा तीन महिना नियमित योगदान गरेका योगदानकर्ता र निजको दम्पतीलाई ओपिडी सेवाको वार्षिक २० हजारसम्मको शोधभर्ना कोषले गर्छ । त्यस्तै योगदानकर्ता र निजको दम्पतीलाई आइपिडी सेवा वार्षिक ८० हजार रुपियाँसम्मको शोधभर्ना कोषले उपलब्ध गराउँछ ।

    दुई वर्ष योगदान गरेका योगदानकर्तालाई घातक रोग लागेमा १० लाख रुपियाँसम्म कोषले उपलब्ध गराउँछ । कोषले विभिन्न योजनाको दाबी भुक्तानीका लागि समयसीमा तोकेको छ । जस अनुसार अस्पताल भर्ना नभई गरिने ओपिडी सेवाको ९० दिनभित्र, भर्ना भई उपचार गराएकाले डिस्चार्ज भएको ९० दिनभित्र र दुर्घटनाका हकमा उपचार गराएको वा डिस्चार्ज भएको ९० दिनभित्र दाबी गरिसक्नुपर्ने छ ।

    मातृत्व हेरचाह भत्ता शिशु जन्मेको ९० दिनभित्र दाबी गर्नुपर्ने छ भने मातृत्व बिदा भत्ता र बिरामी बिदा भत्ता बिरामी भएको अथवा डिस्चार्ज भएको १२० दिनभित्र दाबी गरिसक्नुपर्ने उल्लेख छ । सरकारले २०७६ साउन १ गतेदखि सुरु गरेको सामाजिक सुरक्षा कोषमा १९ हजार ८२९ रोजगारदाता प्रतिष्ठान आबद्ध भएका छन् । ती प्रतिष्ठानमा काम गर्ने अहिलेसम्म पाँच लाख ४६ हजार ७६४ श्रमिक तथा कर्मचारी सूचीकृत रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार