काठमाडौं, १२ भदौ । अमेरिकामा नेपाली बिद्यार्थी मुना पाण्डेको गोली हानी हत्या गरिएको छ । टेक्सस राज्यको ह्युस्टन शहरमा बस्ने २१ वर्षीया नेपाली विद्यार्थी पाण्डेको गोली हानी हत्या भएको हो ।
ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत पाण्डेको उनी बस्ने अपार्टमेन्टमै गोली हानी हत्या गरिएको हो । भोजपुर स्थायी घर भएकी पाण्डे २०२१ मा विद्यार्थी भिषामा अमेरिका गएकी थिइन् । नेपालमा उनकी आमा मात्रै रहेकी छिन् । काठमाडौंमा रहेकी आमासँग शनिबारदेखि नै सम्पर्कमा नआएको खबर छ।
अज्ञात व्यक्तिले अपार्टमेन्टमा फोन गरेर कोठाभित्र लास रहेको जानकारी दिएपछि प्रहरीलाई खबर गरिएको थियो। घटनास्थलमा पुगेको प्रहरीले मुनालाई गोली लागेको अवस्थामा फेला पारेको थियो। प्रहरीले हत्याको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको छ।
मुना एक अमेरिकी युवकसँग सम्बन्धमा रहेको र घटनामा उनकै संलग्नता रहेको अनुमान गरिएको छ ।
हत्याराले उनको ओछ्यानमै पुगेर गोली हानेको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भएको भिडियोमा मुनालाई तीनवटा गोली हानिएको छ।
प्रहरीले उनको शव पोष्टमार्टमका लागि लगेको छ। पोस्टमार्टमपछि मात्रै घटनाको यथार्थ जानकारी आउने प्रहरीले बताएको छ