काठमाडौं, २१ वैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले स्वास्थ्य संग सम्बन्धित चार निर्णय गर्नुभएको छ।
मन्त्रालय पुगेर पदभार ग्रहण गरेपछि उहाँले चार निर्णय गर्नुभएको हो।
बिहीबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै बस्नेतले स्वास्थ्य मन्त्रालय पुगेर पदभार सम्हालेपछि उहाँले चार निर्णय गर्नुभएको थियो।
स्वास्थ्यमन्त्री बस्नेतको यी हुन् ४ निर्णय:
स्वास्थ्य मन्त्रालयको जिम्मेवारीलाई अझ व्यवस्थित प्रभावकारी, सेवाग्राही मैत्री तुल्याई स्वास्थ्य उपचार सेवालाई सरलीकृत गर्ने र उपलब्ध साधन श्रोतलाई अधिकतम उपयोग गरी जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने आधारभूत मानव अधिकारलाई सुनिश्चित गर्न निम्नानुसार गर्न उपयुक्त देखि निर्णयार्थ पेश गरेको छुः-
१. स्वास्थ्य उपचारका नियमित सेवाका अलावा समय क्रममा विकसित भई संक्रामक एवं महामारीको रुपमा फैलिने कोभिड, डेङ्गयु र अन्य सरुवा रोग फैलिन नदिन मन्त्रालयले नीतिगत नेतृत्वका साथै संघ, प्रदेश र स्थानीय तहसँगको पारस्परिक समन्वय र व्यवस्थापनलाई चुस्त दुरुस्त गरी आम नागरिकको स्वास्थ्य उपचार सँगै जीवन सुरक्षाको लागि तीनै तहका सरकारका साथै दातृ निकाय एवं संघ संस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने।
२. स्वास्थ्य विमा कार्यक्रममा सर्वसाधारण नागरिक समेतको सहज पहुँच र सुविधाका लागि सरलीकृत गर्न आवश्यक भएकोले दातृ निकाय समेतको सहभागिता जुटाई स्वास्थ्य संस्था मार्फत स्वास्थ्य विमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने।
३. आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरुमा साधन, श्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधा सहित चिकित्सकहरुलाई अधिकतम परिचालन गर्ने।
४. स्वास्थ्य सेवा प्रवाहका लागि संघ, प्रदेश र स्थानीय तहहरुमा रहेका अस्पतालहरुबाट भईरहेको उपचारात्मक सेवा र उपलब्ध श्रोत र साधन (औजार उपकरण) को अत्यधिक उपयोग भए, नभएको समेत समग्र क्षेत्रको अनुगमन गरी माननीय मन्त्रीज्यू समक्ष प्रतिवेदन पेश गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति गठन गर्ने।