धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र सेती अस्पतालबीच सम्झौता
धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तत्काल मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ । सरकारले सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण गर्ने घोषणा अनुसार धनगढीमा पनि प्रत्यारोपण सेवा सुरु गर्न लागिएको हो। यसअघि पनि पोखरामा दुई पटक मिर्गौला प्रत्यारोपण भइसकेको छ। पोखरामा एकैदिन दुई जनाको मिर्गौला प्रत्यारोपण भएको थियो। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँगको सहकार्यमा धनगढीस्थित सेती अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएको हो । आइतबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र सेती प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो । हाल सेती अस्पतालका जनशक्ति केन्द्रमा मिर्गौला प्रत्यारोपण सम्बन्धि तालिम लिइरहेका छन् । केन्द्रसँगको सहमतिअनुसार सेती प्रादेशिक अस्पतालमा यसै आर्थिक वर्षबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिनेछ । यस्तै, प्रदेशअन्तर्गतका विभिन्न अस्पतालमा डाइलाइसिस सेवा विस्तार गरिनेछ । उक्त कार्यका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनशक्तिको तालिम, अध्यापन आदिको व्यवस्था गर्नेछ । यस्तै, सहमतिमा मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण कार्य प्रभावकारी बनाउन कार्ययोजना प्रस्तुत गर्ने, सेती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरुलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण फेलोसीप, एमसीएच युरोलोजी, डिएम नेफ्रोलोजी र नर्सिङ विषयको स्नातक एवं स्नातकोत्तर तहलगायतको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक गृहकार्य गर्ने समेत उल्लेख छ ।