शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रले सहयोग गर्ने
काठमाडौ । अबदेखि कर्णाली प्रदेशमा पनि मिर्गौला प्रत्यारोपण हुने भएको छ । कर्णाली प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवासंगै प्रदेश अन्र्तगतका अन्य अस्पतालमा डाइलासिस सेवा सञ्चालन हुने छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले चालु आर्थिक वर्षभित्रै कर्णाली प्रदेशमा मिर्गौला प्रत्यारोपण हुने जानकारी दिनुभयो ।
कर्णाली प्रदेश अस्पताल सुर्खेत र भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबीच कर्णालीमा पनि मिर्गौला प्रत्यारोपण गर्ने समझदारी भएसंगै कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण हुने भएको हो ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा डम्बर खड्काबीच कर्णालीमा नियमित मिर्गौला प्रत्यारोपण सञ्चालन गर्नका लागि सम्झौँता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौँता पत्रमा आर्थिक वर्ष भित्र प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण कार्य सुरु गर्ने र प्रदेश अन्तरगर्तका विभिन्न अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने कार्यक्रम उल्लेख छ । मिर्गौला प्रत्यारोपण र डाइलासिस सेवा कार्यक्रमका लागि आवश्यक जनशक्तिका लागि तालिम अध्यापन आदि व्यवस्थापन गर्ने काम प्रत्यारोपण केन्द्रको हुने उल्लेख छ ।
यसैगरी सम्झौँता पत्रमा मष्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण लगायतका कार्यहरु प्रभावकारी बनाउन कार्ययोजना प्रस्तुत गर्ने, प्रदेश अस्पताल सुर्खेत अन्तरगर्त प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण फेलोसिप, एमसीएच, युरोलोजी, डिएम नेफ्रोलोजी, नर्सिङ विषयको स्नातक तथा स्नातकोत्तर तह लगायतको शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक गृह कार्य गर्ने उल्लेख छ ।
प्रदेश अस्पताल सुर्खेत अन्र्तगत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा फेलोसिप,युरोलोजी,नेफ्रोलोजी,नर्सिङ विषयको स्नातक तह तथा स्नातकोत्तर तह लगायतको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवस्यक सहकार्य गर्नेछ ।
प्रत्यारोपण केन्दले अन्य प्रदेशमा पनि मिर्गौला प्रत्यारोपण र डायलासिस सेवालाई विस्तार गरिरहेको छ ।