काठमाडौं । विश्व मिर्गौला दिवसको अवसरमा अंग प्रत्यारोपण गरेका व्यक्तिसंग चिकित्सक पत्रकारको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।
विश्व मिर्गौला दिवसबारे आयोजित पत्रकार सम्मेलनमा डा.पुकारचन्द्र श्रेष्ठले दशरथ रंगशालामा प्रत्यारोपित अंगदाता र चिकित्सक, कलाकार, पत्रकार, समाजसेवीहरु बीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता हुने बताउनुभयो ।
शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र, अंग प्रत्यारोपण समाज नेपाल र स्वास्थ्य अभियान नेपालले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्नेछन् ।
विश्व मिर्गौला दिवसको अवसरमा मस्तिष्क मृत्युबाट हुने अंगदान तथा अंग प्रत्यारोपण कार्यक्रमलाई विशेष जोड दिनको लागि कार्यक्रम विशेष हुने भन्दै उहाँले अन्य जनचेतनाका कार्यक्रमको पनि आयोजना हुने जानकारी गराउनुभयो ।
मिर्गौला रोग विशेषज्ञ डा.कल्पना श्रेष्ठले कार्यक्रममा विशिष्ठ व्यक्तिहरुबाट अंगदान हुने र स्वास्थ्य सेवा दिवसको दिन अंग दान गर्नु भएका स्वास्थ्य मन्त्री, मूख्यसचिव, स्वास्थ्य सचिव लगायत अन्य विशिष्ठ व्यक्तित्वहरुलाई अंगदान कार्ड वितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
विश्व मिर्गौला दिवसै मार्च महिनाको दोस्रो विहिवार मनाइन्छ । यस वर्ष मिर्गौला स्वास्थ्य सबैका लागि भन्ने नाराकासाथ मनाउन लागिएको छ ।
मिर्गौला दिवसको दिन विहान ७ः४५ बजे काठमाडौको शान्तिबाटिका (रत्नपार्क) बाट मिर्गौला पदयात्रा गर्ने कार्यक्रम रहेको छ ।